बेलबारीः सुनसरीको धरान उप महानगरपालिका –६ पानवारिका डिल्ली बहादुर खड्का खेतमा गत वर्ष यति बेला धान लहलह थियो । रापेको गाबो सरेर धान हरियो पलाएर राम्रो देखिन्थ्यो । तर यस पटक भने उनको खेत अहिलेसम्म बाँझै छ । ब्याडमा राखेको बिउ समेत छिपिए पछि समयमै पानी नपरेका कारण रोप्न पाएका छैनन् ।
‘बिहान देखी उठेपछि नसुते सम्म पानी पर्छ कि भनेर आकाश हेर्ने गर्छु’ खड्काले भने ‘तर असारमा पनि पानी पर्न सकेन । सधैँ भ्यागुता कराउँदा पानी आउँथ्यो अहिले पनि कराउँछन् कि भनेर कान थापेर सुन्छु ।’ खड्काको मात्रै यस्तो समस्या होइन यो पीडा प्रदेश नम्बर १ का धेरै जिल्लाका किसानहरूमा देखिएको छ ।
मोरङको बेलबारीट्ट ८ की सविता ढकालको पनि खेती अहिले सम्म बाँझो नै छ । गत वर्ष असारको पहिलो साता नै खेती गरेकी उनले यो वर्ष भने असारको आधा महिना बित्न लाग्दा समेत खेती गर्न सकेकी छैनन् । कहिले पानी पर्ला भनेर आकाश हेर्दा बीउ छिपिएर गई सक्यो ढकालले भनिन खोला नाला पनि सुक्न थालिसके ।
मानो खाएर मुरी उब्जाउने सिजनका रूपमा असार महिनालाई लिने गरिन्छ । खेती गर्ने समयमै पानी नपरेपछि किसानका खेतबारी अझैसम्म बाँझै रहेका छन् । यति बेला धान हरियाली भएको सम्झँदै धेरै किसानको आँखा आकाश तिर मात्रै पर्ने गरेको छ ।
प्रदेश नम्बर १को तथ्याङ्क हेर्ने हो भने अहिलेसम्म भोजपुर भन्दा अन्य जिल्लामा धान धेरै रोपेको देखिन्छ । भोजपुरमा ५७ प्रतिशत धान रोपिएको क्षेत्रीय कृषि कार्यालय विराटनगरका प्रवक्ता प्रकाश डागिले बताए । प्रदेश १मा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुने गरेको छ । तर अहिलेसम्म ६२ हजार लागि खेती योग्य जमिन मान्छ । तर अहिले सम्म ६२ हजार ६सय ५५.६९ हेक्टर क्षेत्रफलमा मात्रै खेती भएको प्रवक्ता डागिले बताए । प्रदेश नम्बर १का १४ जिल्ला मध्ये धनकुटामा सबै भन्दा थोरै रोपाई गरिएको छ । अहिले सम्म ५ प्रतिशत मात्रै रोपाई भएको छ ।
खाध्यन्नको गोदामका रूपमा मानिने झापा,मोरङ, सुनसरीमा समेत उल्लेखनीय खेती हुन सकेको छैन । मोरङमा १७ झापामा २२ र सुनसरीमा १४ प्रतिशत मात्रै खेती भएको देखिन्छ ।