इटहरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीको स्थानीयतहको कमिटी टुङ्गो लागेको छ । नेकपा प्रदेश कमिटीको बिहीबार बसेको बैठकले सुनसरीका १२ ओटै स्थानीय कमिटीको जिम्मेवारी टुङ्गो लगाएको हो ।
१२ स्थानीय तह मध्ये ७ मा पूर्व एमाले र ५ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले अध्यक्षको जिम्मेवारी पाउने गरी भागबण्डा गरिएको छ । त्यस्तै ७ स्थानीयतहका सचिव पूर्व माकेका र ५ स्थानीयतहका सचिव पूर्व एमालेका रहने गरी एकता प्रक्रिया टुङ्गो लागेको हो । सोही अनुसार भागबण्डा गर्दै वडा कमिटी पनि बिस्तार गरिने नेकपाको प्रदेश सचिवालयले जनाएको छ ।
सुनसरीका दुई उपमहानगर मध्ये इटहरी र धरानमा बराबर भागबण्डा गरिएको छ । धरानमा पूर्व एमालेबाट नारायण सुवेदी अध्यक्ष भएका छन् भने सचिवमा पूर्व माकेबाट सुदर्शन श्रेष्ठको नाम अनुमोदन भएको छ ।
त्यस्तै इटहरी अध्यक्षमा पूर्व माकेबाट बहादुर सिंह तामाङ र सचिवमा पूर्व एमालेबाट काशीनाथ दंगालको नाम अनुमोदन भएको हो ।
त्यसै गरी बराहक्षेत्रमा कमल कटुवाल पूर्व माकेबाट र सचिवमा पूर्व एमालेबाट गजेन्द्र थापाको नाम अनुमोदन भएको छ । पूर्व एमालेबाट राम धुनी न.पा., इनरुवा नपा, दुहवी नपा, बर्जु, हरीनगरा र कोसी गाउँपालिकामा क्रमशः राम कोइराला, तिर्थ अधिकारी, खड्ग नारायण उँराव, दिल कुमार गुरुङ, पारस शाह र ब्रम्हदेव यादवको नाम अनुमोदन भएको छ भने सचिवमा पूर्व एमाले बाट क्रमशः उत्तम पौडेल, तोया गिरी पौदार, रहीम आलम, गजेन्द्र चौधरी, मोहन यादव र एके मण्डलको नाम अनुमोदन भएको छ ।
पूर्व माकेले पाएको थप ३ स्थानीय तहको अध्यक्षमा गढी, देवानगंज र भोक्राहनरसींह गाउँपालिका रहेका छन् । जसमा क्रमशः खगेन्द्र चौधरी, भिमनन्दन शर्मा र हेमनारायण मण्डल रहेका छन् । उता सोही गाउँपालिकाको सचिवमा पूर्व एमाले बाट क्रमशः प्रभाकर माझी, मानोज कुमार मण्डल र रामकुमार मेहता रहेका छन् ।
सुनसरीका स्थानीयतहको एकता प्रक्रिया टुङ्गो लागेसंगै नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डलले नेकपाको गाडी स्टार्ट भएको र अब द्रुत गतिमा कुद्ने बताए । लामो समय देखी क्रियाशील बन्न नसकेको स्थानीय कमिटी अब चलायमान हुने उनको भनाई छ । नेकपाले जितेका स्थानीयतहमा विकासको लागी सहयोग गर्ने र बाकी स्थानीयतहमा खबरदारी गर्नको लागी कमिटी परिचालन गरिने उनी बताउँछन् ।
८ महिना अगि गठन भएको सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा कमिटी बिस्तार गरिएको अध्यक्ष मण्डलले बताए । उनका अनुसार २ महिना पहिले नै कार्यदलले प्रतिवेदन बुझाएकोले भर्खर मात्र प्रदेश कमिटीले नाम अनुमोदन गरेको उनको भनाइछ ।
सुनसरी जिल्ला लाल किल्ला भन्ने नारा लिएर पार्टी अगाडी बढेको उनले बताए ।