इटहरीः हिन्दू धर्म मान्ने नेपाली नारीहरूको महान् पर्वका रूपमा मानिँदै आइएको हरितालिका तीज आउन अझै १२ दिन बाँकी छ । तर शहर बजारमा आलोपालो गरेर तीज पर्वका नाममा १ महिना अघिबाटै भोज खाने, नाच्ने, गाउने र रमाउने क्रम शुरु भइसकेको छ ।
दशक अघि मनाइने हरितालिका तीज र अहिले मनाइने तीजमा आकाश जमिनको फरक पाइन्छ । पछिल्ला वर्षहरूमा हरितालिका तीज पर्वका नाममा विकृतिहरू बढ्दै गइरहेका छन् । आधुनिकताका नाममा हरितालिका तीज पर्वको महत्व घट्दै गइरहेको छ । हरितालिका तीज पर्वका विषयमा आधुनिक पुस्ताका नवनायिका र गायिकाहरूसँग प्रदेश पोर्टलले कुराकानी गर्ने क्रममा आज केहीसँग कुराकानी गरी शनिबारीय सामग्री तयार पारेको छ ।
फलफूल र जुस खाएर व्रत बस्छु
पूजन थापा (नव नायिका)
इटहरी स्थायी घर भएकी नवनायिका पूजन थापा काठमाडौंमा बसेर सञ्चारकर्मसँगै चलचित्र दुनियाँमा सङ्घर्ष गरिरहेकी छिन् । ‘कस्मिक लभ’ नामको नेपाली चलचित्रमा नव नायिकाको रूपमा डेब्यु गरेकी उनी सोही चलचित्रको केही ‘सिन’को छायाङ्कन सकेर ब्रेकमा काठमाडौं नै बसिरहेकी छिन् ।
सगरमाथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा सञ्चारकर्म समेत गर्दै आइरहेकी उनी हरितालिका तीजको दिन टेलिभिजनमै व्यस्त हुन्छिन् रे । तीजका दिन स्पेसल कार्यक्रम केही नबनाएकी उनी यसपटक चाहिँ हरितालिका तीज (दर खाने दिनको भोलिपल्ट) को दिन व्रत बस्ने योजनामा छिन् । तर फलफुल र जुस भने खाएर मात्रै व्रत बस्ने उनले बताइन् । उनले व्रतका नाममा आफ्नो स्वास्थ्यलाई हानि हुने काम कसैले गर्न नहुने बताइन् ।
के का लागि व्रत ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘आफ्नै लागि हो । व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो हो नि त ।’ उनले भनिन्, ‘कसम होला । अहिलेसम्म आफूले चाहेको जस्तो महादेव (व्बाइफ्रेन्ड) समेत पाएको छैन ।’ उनी भन्छिन् अहिलेसम्म कसैसँग लभ पनि परेको छैन । अब चाहिँ विचार गर्दैछु, ब्वाइफ्रेन्ड बनाउन । मलाई र मेरो फिल्ड बुझ्ने केटा साथीको खोजीमा छु । त्यसका लागि फेसबुकमै स्टाटस लेख्न मात्र बाँकी छ’, उनले हाँस्दै भनिन् ।
तीज पर्वमा आफू सानो हुँदा जति महत्व हुन्थ्यो, अहिले आधुनिकतामा नाममा घट्दै गइरहेकोमा उनी चिन्तित छिन् रे । उनले भनिन्, ‘तीज पर्वको महत्व र गरिमालाई नघटाइकन चाड मनाउने तरिका परिवर्तन गरिनुपर्छ । तर हिजोआज २ महिना अघिबाटै पार्टी प्यालेसहरूमा भोज खाने, फेशन शो गर्ने र गहना प्रदर्शन गर्ने जस्ता विकृतिले संस्कार र संस्कृति मर्दै गइरहेको छ । यसलाई मर्न दिनुहुँदैन जोगाउन जरुरी छ ।’
आफू सानो हुँदा टेलिभिजन र रेडियोमा बज्ने तीज गीतहरूको सन्देश अर्थपूर्ण हुने गरे पनि अहिले ४ महिना अघिबाटै टेलिभिजन र रेडियोबाट बज्ने गीतहरूमा तडकभडक मात्र नभई संस्कार र संस्कृतिलाई नै मास्ने खालका हुने गरेको उनले बताइन् । तीज पर्वको एक दशक अघिको महत्व घट्नुमा गीत सङ्गीतले पनि ठूलो असर गरेको नवनायिका पूजनको बुझाइ छ । यसो भनिरहँदा आधुनिकताबाट आफू भने टाढा भाग्न नखोजेको उनको तर्क छ । उनले भनिन्, ‘समय अनुसार परिवर्तन त हुनै पर्छ । तर आफ्ना पिता पुर्खाले मनाउँदै आएको संस्कार र संस्कृतिलाई बिर्सनु भने हँुदैन ।’
जीवन बिताउने हिरो पाऊँ भनी व्रत बस्छु
नमिता खड्का (नव नायिका)
मोरङको उर्लाबारी स्थायी घर भएकी नव नायिका हुन्, नमिता खड्का । विगत ८ वर्षदेखि काठमाडौंमा बसेर चलचित्र क्षेत्रमा आफ्नो करिअर खोजिरहेकी उनी तीजको अवसरमा काठमाडौं र दाङमा आयोजना हुने तीज विशेष कार्यक्रममा नृत्य प्रस्तुतिका लागि जाने योजनामा छिन् । भर्खरै नेपाली र भोजपुरी भाषाको चलचित्रमा अभिनय सकेर काठमाडौं आएकी उनी यस पटक पनि ‘जीवन बिताउने राम्रो हिरो पाऊँ’ भन्ने वर माग्दै व्रत बस्ने योजनामा छिन् रे ।
घरमा आमाले सानै उमेरदेखि व्रत बस्न सिकाएकाले व्रत बस्ने गरेको उनको भनाइ छ । अहिलेसम्म आफूलाई बुझ्ने राम्रो महादेव (पतिदेव) बनाउने खालको हिरोको खोजीमा आफू रहेको उनी बताउँछिन् । यतिका वर्षसम्म खोजी गर्दा पनि भनेजस्तो नपाएको उनको दाबी छ । अहिलेसम्म प्रेममा समेत नपरेको बताउने उनी अब चाहिँ लभ गर्नुपर्छ कि भन्ने मुडमा पुगेकी छिन् ।
उनले पनि तीजको नाममा पछिल्लो समयमा विकृति आएकोमा दुःखेसो पोखिन् । यसमा सबैभन्दा बढी दोषी हामी कलाकार छौँ भन्न पनि पछि परिनन् । खड्का भन्छिन्, ‘अहिले बनेका तीजका म्युजिक भिडियोहरू परिवारका सदस्य, माइती, चेलीसँगै बसेर हेर्न सक्ने खालकै छैनन् । परिवर्तनका नाममा छाडापन बढी भयो । जसका कारण यो पर्वका नाममा बर्सेनी विकृति फैलँदै आयो ।’
कलाकारहरूले हरितालिका तीज पर्वको महत्वलाई बुझेर मात्र गीत तथा म्युजिक भिडियो सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । मिडियाले कस्तो गीतलाई प्रशारण गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।
भोको पेटमा व्रत बस्दिनँ
सुनिता कट्वाल (गायिका)
इटहरीमै रहेर गीतसङ्गीतमा कर्म गर्दै आइरहेकी सुनिता कट्वाल बर्सेनी तीज गीत सार्वजनिक गर्छिन् । इटहरीको पाथीभरा डिजिटल रेकर्डिङ स्टुडियोमा कार्यरत उनी तीज पर्वको केही साताअघिबाटै व्यस्त हुने गरेकी छिन् । उनले अहिलेसम्म ३ वटा कार्यक्रममा तीज गीत गाउनका लागि समय दिइसकेको बताइन् । अब २ वटाको पनि कुराकानी चल्दैछ रे ।
उनी पहिलेदेखि नै व्रत भने बस्दै आएकी छिन् । तर, समान्य तरिकाले । फलफूल खाएरै व्रत बस्छु म । केही पाउनका लागि आफू व्रत नबस्ने उनको भनाइ छ । संस्कार, संस्कृति मान्नुपर्ने भएकाले आमाले जे गर्नुभयो आफूले पनि त्यसको ‘फलो’ मात्र गरेको उनले बताइन् । तत्काल विवाह गर्ने सोचमा नरहेकी उनले अहिलेसम्म कसैसँग लभ गरेकी छैनन् रे । उनले हाँस्दै भनिन् अब चाहिँ विचार गर्नुपर्ला जस्तो छ ।’
गायिकाका लागि ३ महिना अघिबाटै तीज विशेष कार्यक्रम भएको राम्रो हुने उनको भनाइ छ । हामी तीज गीत गाउने गायिकाहरूका लागि वर्षमा आउने चाड भनेकै यही हो । यसै अवसरमा गायिकाले पनि केही कार्यक्रम पाउने उनको भनाइ छ । फेसन र सहजताका कारण पछिल्लो समय तीज पर्वका नाममा गाउँभन्दा पनि शहरबजारमा बढी विकृति सिर्जना हुने गरेको उनले बताइन् । सबै मिलेर यस्ता विकृति रोक्नुपर्ने र तीजको महत्वलाई जोगाइराख्नुपर्ने उनको तर्क छ ।
संस्कृति रक्षाका लागि व्रत बस्छु
अञ्जु गौतम (गायिका)
इटहरीमा रहेर १० वर्ष अघिबाट गीतसङ्गीतमा सङ्घर्ष गरिरहेकी गौतम संस्कार र संस्कृतिको रक्षाका लागि व्रत बस्ने बताउँछिन् । तर, सामान्य तरिकाले आफू व्रत बस्ने उनको भनाइ छ । पछिल्ला वर्षहरूमा तीज पर्वका नाममा विकृति आएकोमा आफू दुःखी भएको उनले बताइन् । यो पर्व त धनी वर्गका लागि मात्रै हो कि जस्तो भएको छ । यस्ता विकृतिको सबै मिलेर अन्त्य गर्न जरुरी छ ।