भोजपुरः भोजपुरमा पाँच दिनयता लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर र घर भत्कँदा रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकामामा २ जनाको ज्यान गएको छ ।
रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका ६६ वर्षिय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घरको चुली गा¥हो भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । त्यस्तै टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए ।
दुवै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पानी परिरहेकाले भोजपुरमा हवाइ तथा सडक यातायात ठप्प भएको छ । भोजपुर लेगुवा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । ग्रामीण सडकहरुमा पनि गाडी कुदेका छैनन् । वर्षात्ले जमिनहरु चर्किन, भासिन थालेको साथै खोला नदी बढेकाले विपदको उच्च जोखिम बढेको कारण सतर्क रहन जिल्ला विपद व्यवस्थापन समिति तथा आपतकालीन कार्यसञ्चालन केन्द्रले आग्रह गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका अनुसार जिल्ला सदरमुकाम लगायत गाउँगाउँबाट घरहरु जोखिममा परेको हिले भोजपुर मुख्य सडक लगायत ग्रामीण सडकहरुमा अवरोध भएको खबरहरु आइरहेकाले संभावित विपदलाई ख्याल गर्दै पर्याप्त स्रोत र साधनको व्यवस्था गर्नलाई सम्बन्धित निकायहरुमा अनुरोध गरिएको छ । भोजपुर जाने मुख्य सडकमा पाख्रीबास लेगुवा खण्डमा गाडीहरु भासिएर अवरुद्ध भएका छन् । त्यस्तै भैसीपंखाको गजुरमुखी भीरमा माथिबाट पहिरो खस्ने क्रम जारी छ ।
विशेषगरि स्थानीय तह खोज, उद्दार तथा राहतको लागि उच्च सतर्कतामा रहनुपर्ने र सर्वसाधारण पनि सचेत भएर बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । कहिं कतै केहि घटना भइहाले तथा विपदसँग सम्बन्धित सूचना तत्काल जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा खबर गर्न पनि आग्रह गरिएको छ ।