‘पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो
छरिएर बसे के भो सन्तान त एउटै हो ।’

साझे नेपालीभाव बोल्ने यही गीतमा स्थानीय लिटिल बुद्ध स्कुलका चस्मिना, दीप्ति र रूपा नानीहरूको जिउँदो नृत्यले हाम्रो तोक्मे डाँडाको बसाइले स्वागत मात्र पाएन, आँखामा ज्यानै भरिदियो सबको । अम्बिका हाङ्वाङको कुशल सञ्चालनमा के.बी .किरातीका शब्दहरूबाट प्रारम्भ भएको आदिकवि भानुभक्त आचार्यको २०० औं जयन्तीको जिल्लास्तरीय प्रतियोगितामूलक कविता गोष्ठीमा काठमाडौं पछार्ने शब्दहरूको तागत देखेर हामी छक्क पर्याैँ । मणि शम्भु, देवीन तामाङ, सुमन गुरागाईँ, तुलसी खतिवडा, नवीन गुरागाईँ, लेकाली कान्छा ‘मुकुम’ जस्ता जोशिला कविहरूका आवाजमा हामी मेची–कालीको भरोसा पाएर आश्वस्त भयौं ।

दिदी केशकुमारी खतिवडाको अक्षरहीन, लेखोटहीन कण्ठे काव्यवाचनले सबैमा जाँगर थप्यो । रोसन लिम्बूको नृत्यलाई मोनिका लिम्बूकै नृत्यले मात्र बिर्साउने शक्ति राख्यो । यस्तै नुमा, सुषमा र नरेनका एकल नृत्यहरूले मुनलाइट कला केन्द्रको मेहनत सफलीभूत पारेको मान्यौं हामीले ।

यत्तिकैमा ढाडमा पछ्यौरीले नानी च्यापेर एउटी गोरी लिम्बूनी मञ्चतिर आइन् । सीता किरातीलाई कविता वाचन गर्न बोलाउँदा उठेकी तिनी त ‘खरानीले छोपेको आगो’ पो रहिछिन् । माइकको फुँदामा टुक्टुक् हिर्काउँदै–कोट्याउँदै स्यानी छोरी, शब्दबिम्बमा काठमाडौंभन्दा ओजिलो आवाजको सौन्दर्यकुसुम फुलाउँदै कवयित्री आमा । जात्तेरी, एकोहोरिए भानुभक्तहरू । नपत्याउँदी लिम्बुनीको कविता–बलका अघि राजधानी फिका– फिका लाग्यो सबैमा । न प्रकाशनको मुख, न अध्ययनको सहज सुख, हाङ्देवा जहाँ कान्तिपुर र गोर्खे खबरकागतहरू महिनाभरि हिँडेर पनि पुग्न सक्दैनन्, त्यहाँको कविता पो अर्गानिक कविता !

च्यातिदिए हुन्छ मधुपर्क र गरिमाहरू, भत्काइदिए नि भो प्रज्ञा–हलहरू । भङ्ग गरिदिए नि भो विकृतियुक्त प्रवृत्ति बोकेको संस्कृति मन्त्रालय ! बरु सबै भेला भएर सुन्नू एकपटक सीता किराँतीको कविता –हेर्दै स्यानी नियारा फुङको निर्दोष मुहार । भवानी दी र मेरो मात्र होइन नामुद कवि गण्डकीपुत्रका मनले पनि आफ्नो काव्य सामथ्र्यमा खोट गम्ने बेला यो । विकल्प र निराकारहरू समेत आँखे–समाधिमा लीन भएको बेला ।

हामी आज साँच्चै अर्गानिक कविता पान गरिरहेछौं, जहाँ शहरी रसायनहरूको कुनै स्पर्श छैन । नेपाली धर्तीको यो कलाबारीमा अलिकति गोडमेल, थोरै मलजल र हेरचाह गर्न पाए मुरीका मुरी भानुभक्त, मोतीराम, देवकोटा, घिमिरे र पारिजातहरूको फसल लाग्नेछ भन्ने मेरो विश्वास ।

पोको पारेर कविता–कुरा कोइराला, काइँलो र बल्लभहरू तोक्मे डाँडामा आऊन्, कसेर रुमालमा गजलहरू देवी नेपाल, एटम र बलिभद्रहरू हिँडून् पाथीभरातिर अनि प्रयोग भन्दै प्याट्टै नबुझिने रङ्ग लेख्ने धर्मेन्द्रहरू चढून् उकालो एकपल्ट । साँच्चै त ए रामप्रसाद ज्ञवालीजी ! लयविधानको एकाहा लाइदिनुहोस् न एकपल्ट यता पनि ।

बिर्केटोपी ओढेर मैले अपराध सोचेंछु सत्ते —गोली ठोकिदिए हुन्छ चोरेर रचना छाप्ने र छपाउनेहरूलाई, प्रतिभाको दोहन गर्नेहरूलाई, पैसा, पहुँच र पछ्यौरीले प्राज्ञ हुनेहरूलाई, विज्ञापनमा वरिष्ठ हुनेहरूलाई, बजारमा हल्ला बेचेर स्याबासी कमाउनेहरूलाई, लाटाहरूको आवादीमा तन्नेरी हुने गाँडेहरूलाई, बरु अरू हामी सबैलाई तर, एकपल्ट अन्तिमपल्ट होस् साँच्चै एकपल्ट मुक्कुम र सीताका कविता सुन्न दिनू, नियारालाई नियाल्न दिनू । साँच्चै आडम्बरी शान त्याग्ने शपथ खानेछन् सबैले त्यतिबेला । कविताको ल्याकत बुझेपछि । नेपाली कविताका कुलपुरुष भानुभक्तलाई साक्षी राखेर नढाँटी भन्नोस् त हो कि होइन भवानी ?

‘नाना, दाना र छाना’ कवितामा कार्यक्रमका संयोजक कवि चन्द्र मादेन ‘आन्छन’को समाजबोध कलात्मक सम्बोधनमा कति सफल ! दाजु नरेन्द्र मादेनलाई अस्पतालको कक्षमा छोडेर हाम्रो सद्भावपूर्ण सत्कार गर्ने र भानुभक्तप्रति ताप्लेजुङे सर्जकहरूको सम्मान–श्रद्धाको मेलो जुटाउने जटिल कर्मका योजकको बोलीमा पनि हामी कविता पाउन थाल्यौं । नरम शब्दका गम्भीर कवि गण्डकीपुत्रका आवाजभित्र हामी एकाएक देश खोज्न विवश भयौं । विकल्पको शब्द र निराकारको अभिव्यक्तिपश्चात् लक्ष्मी चुडालजीको गायनले बिर्केटोपी त जुरुक्कै उठेर नाच्न पो थाल्यो । अचम्म, उत्सुकता नानीहरूमा प्रेरणा जगाउनका लागि हुँदो हो तर बिर्सेर टाउकोको रङ उठौं लागिहाल्छ, दिदी !

मनले अराए’सि ठाउँ कुठाउँ ऊ यसरी नै पोखिन्छ । पछि पो थाहा भो दिदीले’नि आँट गर्न मात्र नसक्या रे’छ । ‘तानेर नचाए’ नि हुन्थ्यो जस्तो भैरहेथ्यो मलाई पनि ।’ दिदीको प्रत्युत्तरमा ‘सरी त्यतातिर त होशै पुर्याइएनछ’ भन्नु मात्र ।

प्राविधिक मित्र तीर्थ निरौलाको माटो प्रेमप्रति स्यावास भनेर हामी कविता मूल्याङ्कन समूहको निष्कर्षसँगै एउटा जटिल प्राविधिक कर्म सकेर प्रोत्साहनको पोको बनेका शब्दहरूलाई बाँडेर आनन्दित बन्यौं । जरा होटलसँग गाँसिएको यो सुन्दर साँझ अब त जीवनको कथा हुने भो पक्का ! सानो सभाकक्ष, सानो भीड, सानो संसार तर विविध साङ्गीतिक परिकार पस्कँदै गरिएको शब्दभोज, दृश्यपान र सत्सङ्गत यो मनको पत्र–पत्रमा खोपिएर रहनेछ । न जरा सुक्नेछ, न नियाराकृति ओइलाउने छ, न त नियाराका कवि बाबा–आमा मुक्कुम र सीताहरू झर्नेछन् यो मनको आँखाबाट ।

क्याबात ताप्लेजुङ ! क्याबात फुङ्लिङ !

क्याबात तोक्मे डाँडा !

आन्छन लुङ्गा, हाम्रो सादर सेवारो है सत्कर्म योजनको निम्ति ।

(डा. खतिवडाको ‘आस्थाको अम्मल’ नामक भानुसम्बद्ध नियात्रा कृतिबाट । भानु द्विशतवार्षिकीको अवसर पारेर मेची र कोशीमा गरिएको साहित्यिक यात्रा समेटिएको यो कृति आज धरानमा विमोचन हुँदैछ ।)