बेलबारीः केही दिनदेखि परेको लगातारको वर्षाका कारण मोरङका १ हजार १ सय परिवार प्रभावित भएका छन् ।

शनिबार बिहान सम्ममा १ हजार १ सय परिवारका ४ हजार भन्दा बढी मानिस प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् ।

प्रजिअ केसीका अनुसार लोहन्द्रा खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन् । ‘डुबानबाट पीडित भएका घरमा बस्न सक्ने अवस्था नभएपछि विस्थापित नै भएका छन्,’ प्रजिअ केसीले भने, ‘उनीहरूलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, विद्यालय, डुबान नहुने सार्वजनिक र सुरक्षित स्थलमा राखिएको छ ।’

विराटनगर महानगरपालिकाको १, ६, ८, १२ र १६ नम्बर सबैभन्दा बढी प्रभावित बनेका छन् । विशेष गरेर सुकुम्बासी बस्ती बढी प्रभावित बनेको र सबैजसो घरमा बाढी पसेर डुबान भएपछि उद्दार गरिएको केसीले बताए ।

कटहरीको ४ र ६ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको उनले बताए । त्यस्तै, धनपालथान गाउँपालिका ५, ६, ७ जदाहा गाउँपालिकाका ७ नम्बर वडासहित अधिकांश क्षेत्रमा डुबानमा परेको प्रजिअ केसीले बताए । रतुवामाई, सुनवर्षी तथा रङ्गेली नगरपालिकाका केही क्षेत्र डुबानमा परेको उनले बताए ।

प्रभावित भएकाहरूलाई स्थानीय सरकारले वासस्थानको व्यवस्था मिलाइरहेका छन् । उनीहरूले खान बस्नका लागि व्यवस्थापन गरिरहेको धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानुले बताइन् । चाउचाउ दालमोठ, भुजा, चिउरा, बिस्कुट र पानीलगायतका खाद्यान्न सामग्री प्रभावितलाई बाँडिएको ती स्थानीय तहले बताएका छन् ।