इटहरीः प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबारसम्म वर्षाकै कारण उत्पन्न घटनामा परी प्रदेश नम्बर १ मा १५ जनाको ज्यान गएको छ ।
हालसम्म प्रदेश १ मा खोटाङमा ३, झापामा २, ओलढुङ्गामा ३, भोजपुरमा ५, इलाममा १ र सुनसरीमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको छ ।
यता, मोरङमा कटहरी गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीया शोभा सोरेन र जहदा गाउँपालिका ५ बस्ने १६ वर्षीय आदर्श पोदार खोलाले बगाएर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको वडा नं ८ को सुकुम्बासी बस्ती, वडा नम्बर १२ को बखरी, मुसहर र ऋषिदेव बस्ती, वडा नम्बर १५ को पारिजात र मुसहर टोल, वडा नम्बर ६ को ब्रम्हपुरा र रामपुर, वडा १२ को सिमरिया र बखरी बढी प्रभावित भएका छन् ।
कटहरी गाउँपालिका वडा नं २ को कदमगाछी, वडा ४ को नयाँबजार र सुकुम्बासी बस्ती, रतुवामाई नपा वडा नं १० को मङ्गलवारे र पथरीशनिश्चरे नपा वडा नं ४ मा रहेका बस्ती बढीबाट अधिक प्रभावित भएको प्रहरीले जनाएको छ ।