बेलबारीः मोरङको उर्लाबारी–१ मा छिमेकीको गोरु कुटेको आरोपमा प्रहरीले ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरेको छ । गोरु कुटेको घटनामा संलग्नलाई पक्राउ गरिएको यो पहिलो घटना भएको बताइएको छ ।

लिम्बूले उर्लाबारी नगरपालिका–१ का ४७ वर्षीय रमेश कार्कीढोलीले मावा खोलाको डिलमा बाँधेको कालो रङको गोरु कुटेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार कोदालो (फरुवा) ले कुटेर गोरुलाई घाइते बनाइएको छ ।

आफ्नो गोरु कुटेको भन्दै कार्कीढोलीले दिएको उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको इन्सपेक्टर तिमल्सिनाले बताए । पुरानो रिसइबीका आधारमा लिम्बूले गोरु कुटेको खुलेको छ ।

घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

चौपायालाई कुटपिट गरेर अङ्गभङ्ग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले गोरु कुट्दा पशु अधिकार उल्लङ्घन समेत भएको जनाएको छ ।