इटहरीको सामुदायिक क्याम्पस हो जनता बहुमुखी क्याम्पस । इटहरीमा मात्रै होइन कोशी करिडोरमा प्रदेश १ कै अब्बल सामुदायिक क्याम्पस हो जनता बहुमुखी क्याम्पस । प्लस टुदेखि स्नातकोत्तरसम्म पढाइ हुने जनता बहुमुखी क्याम्पसमा ४ हजार ४ सय विद्यार्थी पढ्छन् ।
निजी क्याम्पसभन्दा अब्बल बन्दै आएको क्याम्पसमा यसका विभिन्न गतिविधि र शैक्षिक कार्यक्रममा केन्द्रित भएर क्याम्पस प्रमुख भोजराज श्रेष्ठसँग प्रदेश पोर्टलका लागि प्रकाश तिम्सिनाद्वारा गरिएको कुराकानीः

अहिले क्याम्पसमा कस्ता काम गर्दै हुनुहुन्छ ?
अहिले हामी नयाँ सङ्काय थप्ने तयारीमा छौं । व्यवस्थापन सङ्कायमा बीबीए सञ्चालन गर्न लागेका छौँ । भौतिक संरचना बनाउने काम भइरहेको छ । भर्खरै सुविधा सम्पन्न पुस्तकालय भवन निर्माणका लागि कोटेशन आह्वान गरेर प्रक्रिया अगाडि बढाइसकेका छौँ । विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि छुट्टैै प्रोग्राम हल र समीक्षा हलको आवश्यकता पर्ने भएकाले सभाहलको लागि पनि कोटेशन आह्वान गरेका छौँ ।

त्यस्तै विश्व विद्यालय आयोगको सहयोगमा हामीले कम्प्युटर ल्याबलाई व्यवस्थित गर्नका लागि कम्प्युटर खरीदको लागि पनि कोटेशन प्रक्रिया अघि बढेको छ । कम्प्युटर ल्याबमा आवश्यक पर्ने एसी मेसिनको लागि पनि कोटेशन आह्वान गरिएको छ ।

प्रविधिको माध्यमबबाट शिक्षा प्रदान गर्नका लागि मल्टिमिडिया प्रोजेक्टरको लागि पनि कोटेशन माग गरेर प्रक्रिया अघि बढेको छ । यसका साथै अहिले भइरहेको भवनलार्ई अझ व्यवस्थित गरी रङरोगन गर्न र मार्बल लगाउन इस्टिमेट तयार पार्दैछौँ । भवन अगाडि फूलबारी निर्माणको काम भइरहेको छ ।

यस क्याम्पसमा कुनकुन सङ्कायमा अध्ययन हुदै आएको छ ?
प्लस टु मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान सङ्काय सञ्चालनमा छन् । स्नातक तहमा मानविकी, शिक्षा र व्यवस्थापन तथा स्नातकोत्तर तहमा व्यवस्थापन र शिक्षा सङ्काय सञ्चालनमा रहेका छन् ।

पुस्तकालय भवन बन्दै छ । तर, अहिले नै पर्याप्त पुस्तक छैन भन्ने पनि विद्यार्थीहरूबाट व्यापक गुनासो आउँछ नि ?
अहिले चाहिँ हामीले कोर्षमा आधारित टेक्स्ट बुकमा आधारित पुस्तक पाइन्छ । त्यसलाई हामीले बिस्तारै कम्प्युटर ल्याबको सुविधा दिन लागेका हाँै । त्यसमा विद्यार्थीलाई चाहिने पाठ्यसामग्री खोजी गरेर पढ्न सक्ने वातावरण बनाएका छौँ, र पुस्तकालयमा केही हद सम्म पुस्तकहरू कम भएको कुरालाई हामी स्वीकार गर्छौँ ।

भइरहेका पुराना किताबहरूलाई स्टोरमा राखेका छौँ । पछि छुट्टै नयाँ र सुविधा सम्पन्न पुस्तकालय भवन बनिसकेपछि त्यस्ता किताबलाई व्यवस्थित गर्नेछौँ । अहिले १ विद्यार्थी ३ ओटा किताब १ महिनाको लागि स्नातक र स्नाकोत्तर तहका विद्यार्थीलाई दिने भनी क्याम्पस प्रशासनले निर्णय गरेर पुस्तकालय शाखालाई निर्देशन गरिसकेका छौँ ।

केही प्राध्यापकहरू समयमा कक्षामा नपस्ने, भित्र पसे पनि घण्टी नबज्दै निस्किने तथा फुल टाइमर अध्यापकले शिक्षणमा धेरै ध्यान नदिने परिपाटी क्याम्पसमा भएको आरोप पनि लाग्छ नि ?
पहिले केही प्राध्यापकहरूमा त्यस्तो समस्या थियो । अहिले पनि पूर्ण रूपमा क्याम्पस प्रशासनले सोचे जति समयसम्म काम लगाउन सकिएको छैन । हामीले विभिन्न कार्ययोजना बनाएर यो समस्या घटाउँदै ल्याएर प्राध्यापकलाई जिम्मेवार बनाइरहेका छौँ । केही समयपछि यो समस्या हटेर जानेछ ।

यस क्याम्पसमा अब्बल अध्यापक हुँदाहुँदै पनि विभिन्न सङ्कायको परीक्षाको नतिजा राम्रो नआउनुमा प्रमुख कारण क्याम्पस प्रशासन हो कि विद्यार्थी ?
यस विषयमा प्रध्यापक, विद्यार्थी मात्र नभई क्याम्पस प्रशासन समेत जोडिन आउँछ । यो सामुदायिक कलेज हो । समुदायको योगदानको आधारमा निर्माण भएको कलेज अन्य निजी कलेजमा पढ्न नपाउने विद्यार्थी यस कलेजमा आउँछन् । विभिन्न देश जानका लागि क्याम्पसमा भर्ना हुने र क्याम्पसबाट अस्ट्रेलिया, जापान वा अन्य देश जानका लागि विद्यार्थीहरूले डकुमेन्ट बनाउने भएकाले जनता क्याम्पसको ड्रप आउट रेट पनि उच्च छ ।

यी विभिन्न समस्याहरूलाई नियन्त्रण गर्नका लागि अनुगमन गर्ने गरिएको छ, अनुगमन गर्दै जाँदा यी कार्यहरूलाई नियन्त्रण गर्न नसकेको पक्कै हो । अर्काे कारण जनता क्याम्पसमा परीक्षाको आवेदन दिने अन्तिम दिनसम्म पनि विद्यार्थी नयाँ भर्नाका लागि आउने गर्दछन् । उनीहरूलाई क्याम्पसमा के पढाइ भयो, कसरी पढाइ भयो भन्ने थाहा हँुदैन । त्यसकारण पनि कम प्रतिशत विद्यार्थी पास भएका हुन् ।

अर्काे कारण विद्यार्थी क्याम्पस आए पनि कक्षा कोठामा नबस्ने,, अध्ययनतिर ध्यान नदिने गर्नाले पास प्रतिशत घटेको पाएका छौँ । अबका दिनमा हामी जो प्राध्यापकलाई जिम्मेवार ठान्छौँ उहाँहरू आगामी दिनमा परीक्षाको नतिजा प्रतिशत जसरी पनि बढाउनुपर्छ भनेर लाग्नुहुनेछ । यसका लागि अभिभावक, क्याम्पस प्रशासन, विद्यार्थी पूर्ण रूपमा लागे केही हदसम्म पास प्रतिशत माथि उठाउन सकिन्छ ।

क्याम्पसमा २ वर्ष पूरा भयो स्ववियु स्थापना भएको । स्ववियुले निवार्ह गर्नुपर्ने दायित्व पूरा ग¥यो त ?
स्ववियुमा सबै सङ्गठनहरूको प्रतिनिधित्व छ । स्ववियु भनेको मुख्य पदमा निर्वाचित हुने व्यक्तिहरूले परिचालन गर्ने संस्था रहेछ भन्ने देखियो । स्ववियु सभापति निर्वाचित भएपछि आफ्नो व्यक्तिगत कारणले सभापतिमा रहेर काम गर्न सक्नुभएन । त्यसपछि उपसभापतिले संस्था चलाउनुभयो । केही समय काम गरी उहाँ पनि कुनै कारणले यहाँबाट जानुभयो र अहिले सचिवले कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै हुनुहुन्छ । सकेसम्म विद्यार्थी र प्रशासनको बीचमा पुलको काम गरिरहनुभएको छ । तर जुन रूपमा विद्यार्थीहरूले स्ववियुबाट अपेक्षा राखेका थिए त्यो चाहिँ पक्कै नभएकै हो ।

केही महिना अघि मात्र यस क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । त्यसपछि के कस्ता कार्यक्रम सञ्चालन भएका छन् ? 

हामीले शैक्षिक गुणस्तर प्रमाण चिह्न क्युएए प्राप्त गरिसकेपछि विद्यार्थीको आकर्षण बढेकै हो । विद्यार्थीहरूलाई गाउँगाउँमा यातायातको सुविधा प्रदान गरेका कारणले पनि आकर्षण बढेको छ । यो आकर्षण बढेपछि व्यवस्थित रूपमा अघि बढाउनका लागिपरेका छौँ । तर अपेक्षा गरेअनुसारको कार्यचाहिँ भएको छैन ।

क्युएए प्राप्त क्याम्पस भइसकेपछि क्याम्पसले जुन अभियान अघि बढाउनुपर्ने त्यो अभियान बढाइरहेका छौँ । अटोनोमस कोर्सको हामीले परिकल्पना गरेका छौँ र विद्यार्थीहरूको रेकर्डलाई विश्वविद्यालय अनुदान आयोगको निर्देशन अनुसार हामीले राख्ने गरेका छौँ । केही हदसम्म काम गर्दै आएका छौँ र क्युएए प्रमाणपत्र प्राप्त भएपछि केही चुनौती र कठिनाइ पनि देखिएका छन् । त्यसलाई हामी निरन्तर रूपमा लागेर केही समयमा समाधानतिर लाग्ने छौँ ।

तपाईको कार्यकालमा के कस्ता कार्यक्रम पुरा गर्नुभयो ? र अब केकस्ता कार्यक्रम सञ्चालन गर्ने तरखरमा हुनुहुन्छ ?
म क्याम्पस प्रमुख भएर आएको २ वर्ष ३ महिना भयो । यो अवधिमा भौतिक संरचना निमार्णको कामलाई जोड दिएँ । हामीले क्याम्पस गेटदेखि प्रशासन भवनसम्मको र क्यान्टिनसम्मको बाटो व्यवस्थित गरायौँ । फूलबारीलाई व्यवस्थित बनायौँ । जहाँ बाह्रै महिना विभिन्न जातका फूलहरू फुलिरहेका हुन्छन् । विद्यार्थीहरूका लागि प्रशासन भवनभित्रै प्राथमिक उपचार कक्षको व्यवस्था मिलायौँ । अपाङ्गमैत्री प्रशासन बनायौँ ।

कम्प्युटर ल्याबको व्यवस्था गरेका छौँ । ५ मिनेट भित्रै विद्यार्थीको स्मार्ट परिचय पत्र बनाउने व्यवस्था गरेका छौँ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमास्वच्छ खानेपानीको लागि काम अघि बढिरहेको छ । अबको योजना भनेको क्याम्पसको जमिनलाई सुरक्षित गर्ने रहेको छ ।

कानुन सङ्कायमा प्लस टु सकेपछि १० सेमेस्टर भएको बीएलएलबी र बीबीए कार्यक्रम ल्याउने योजना छ । अहिलेको भवनको पूर्वतर्फ अर्काे एकेडेमिक भवन बनाउने योजनामा छौँ । क्याम्पस प्रवेश गर्ने गेट बनाउने लक्ष्य छ र विद्यार्थीहरूलाई समयमै सुविधासम्पन्न प्रशासनिक क्रियाकलाप र छुट्टै प्रशासनिक भवनको हामीले परिकल्पना गरेका छौँ । २० वर्षे, २५ वर्षे र ५० वर्षे गुरुयोजनामा हामी लागेका छौँ ।

यस क्याम्पसमा १ नम्बर प्रदेश मात्रका नभएर अन्य छिमेकी प्रदेशका जिल्लाबाट पनि अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । टाढाका जिल्लाबाट आउने विद्यार्थीहरूले अन्य क्याम्पसमा छात्रावासको सेवा पाउँछन् तर यस क्याम्पसमा किन यो विषयले प्राथमिकता पाउँदैन ?
क्याम्पसमा छात्रावासको व्यवस्था हुनुपर्ने हो । छात्रावासको भवनको लागि हामीले सोच बनाउँदै छौँ । छात्रावास बनाएपछि त्यहाँ क्याम्पसले दिनुपर्ने सेवा सुविधाका बारेमा सोच्नुपर्ने हुन्छ । चाँडै यस विषयमा हामी सोच्नेछौँ ।

अहिले क्याम्पस बस कहाँकहाँ सम्मका विद्यार्थी लिन पुग्ने गरेको छ ?
अहिलेको समयमा पिक आवरमा १९ ओटा रुटमा बस सञ्चालन हुने गरेका छन् । जस्तै, पश्चिम–उत्तरमा २२ किलोमिटर टाढा कालाबञ्जारसम्म बस जान्छ । त्यस्तै पश्चिममा लबिपुर र झुम्कादेखि अलि अगाडि शिव मन्दिरसम्म जान्छ । दक्षिणमा दुहबी नजिक कदमगाछीसम्म जान्छ । पूर्वमा बेलगाछी र उत्तरमा तरहरा, तालतलैया हुँदै जान्छ । छोटो रुट त सबै त हुबहु भन्न सक्दिनँ, तर सबैतिर बस जान्छ ।

जो विद्यार्थी यस क्याम्पसमा अध्ययन गर्ने योजनामा छन्, उनीहरूलाई के भन्नुहुन्छ ?
यो क्याम्पस भूगोलले साथ दिएको क्याम्पस हो । जनता क्याम्पसले सस्तो शुल्कमा बसको व्यवस्था गरेको छ, जो विद्यार्थी जेहेनदानर र लगनशील छ उसलाई क्याम्पसले ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यस्तै १६ ओटा अन्य छात्रवृत्तिको व्यवस्था गरेको छ । समयअनुकूलको शिक्षा प्रदान गर्ने गरेको छ । एक पटक आएर क्याम्पसको विषयमा बुझेर अध्ययन गर्न अनुरोध गर्दछु ।