खाँदबारीः सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ की १६ वर्षीया बालिकाको गत चैत महिनामा साही ठाउँका १६ वर्षीय बालकसँग परिवारकै सहमतिमा विवाह हुँदै थियो ।
बाल विवाह हँुदैछ भन्ने थाहा पाएपछि जिल्ला बाल क्लब समन्वय समिति र बाल विवाह विरुद्ध बालिका अभियानका किशोरीहरूको समूह पुगेर त्यो बाल विवाह रोक्न सफल भयो ।
त्यस्तै धर्मदेवी नगरपालिकाकी कक्षा ८ मा अध्ययनरत १४ वर्षीया बालिकाको धनकुटा घर भएका २६ वर्षीय पुरुषसँग गत बैशाखमा परिवारकै सहमतिमा विवाह हँुदै थियो । त्यो पनि सोही अभियानका किशोरीहरूले रोक्न सफल भएका छन् । यी त केही उदाहरण मात्रै हुन् । यस्ता परिवारकै सहमतिमा हुने गरेका बाल विवाहका धेरै घटना किशोरीको समूहले रोकेको छ ।
बाल विवाह नगर्ने प्रतिबद्धता
यसरी बाल विवाह रोक्ने मात्रै होइन सङ्खुवासभाका करिब ३ सय बालिकाहरूले बाल विवाह नगर्ने र गर्न पनि नदिने भन्दै प्रतिबद्धता जनाइसकेका छन् । ‘बाल विवाह विरुद्ध बालिका अभियान’ नामक अभियानमा जिल्लाका ३ सय भन्दा बढी बालिका र किशोरीहरूले प्रतिबद्धता जनाई बाल विवाह गर्दैनौँ र गर्न दिँदैनौँ भनी हस्ताक्षर पनि गरेका हुन् । यसरी अभियान नै सञ्चालन गरेपछि बाल विवाहमा पनि कमी आएको पाइएको छ ।
कम उमेरमा विवाह नगर्ने र अरूलाई पनि गर्न नदिने कार्यमा सक्रियताका साथ आफू लागिपर्ने अभियानकी सह संयोजक सविना पोख्रेलले बताइन् । बालबालिका र अभिभावक दुवैले बालविवाह विरुद्धको अभियानमा लाग्नुपर्दछ, उनले भनिन्, ‘चेतनाको अभावले बालविवाह बढेको हुँदा यसका विरुद्ध समाजमा सचेतना अभियान नै सञ्चालन गर्नुपर्दछ ।’
अझ विभिन्न नगर तथा गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि गठन गरिएका किशोरी समूहले घरदैलोमै पुगेर चेतना जगाइरहेका छन् । बालबालिकासम्बन्धी कानुन, नीति र विकास योजना निर्माणमा सहभागी हुने, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत सेवा प्रवाह प्रणालीलाई सबै स्थानीय तहले बालमैत्री बनाउनुपर्नेमा पनि ती किशोरीहरूले माग गर्दै आएका छन् ।
स्थानीय विकास योजना तर्जुमा प्रक्रिया र अन्य सामाजिक क्रियाकलापमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र उपेक्षासहित बालविवाह न्यूनीकरणमा क्रियाशील रहने किशोरीहरूले प्रतिबद्धता जनाएका छन् ।
गत असारमा धर्मदेवी नगरपालिकामा १५ वर्षीया किशोरीलाई ललाइफकाई विवाह गरिदिएको आरोपमा उनका बुबा र दुलहा पक्राउ परे । उनीहरूलाई प्रहरीले बालविवाहको मुद्दा दर्ता गराएको छ । किशोरीले प्रहरीलाई दिएको बयानअनुसार दुलहाले गहना र घडी दिएर उनलाई ललाइफकाई विवाह गर्न बाध्य बनाइएको थियो । अभियानका किशोरीहरूको सहयोगमा सो विवाह रोकिएको थियो । यो त उदाहरण मात्रै हो, परिवारले बाल विवाह गराउने अनि किशोरीहरूले कहिले दुलहालाई र परिवारलाई मण्डपबाटै उठाउने त कहिले विभिन्न तरिकाले विवाह रोकेका घटना धेरै छन् ।
अभियानका किशोरीहरू भन्छन् ‘आफूहरू जस्तोसुकै परिस्थितमा भए पनि थाहा पाएसम्म बाल विवाह हुन दिन्नौँ । तर पढेलेखेका परिवारकै सदस्यहरूबाट हामीलाई असहयोग हुने गरेको छ ।’
उमेर नपुग्दै बिहे गर्दा हुने स्वास्थ्य समस्या, मानसिक समस्याबारे अभिभावकलाई सम्झाउँदा पनि उल्टै गालीगलौज गर्ने, देवतालाई बोका चढाएर नराम्रो गराइदिने भनी धम्की दिने गरेको जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष सञ्जय ओझाले बताए । जिल्ला बाल क्लब समन्वय समिति सङ्खुवासभाका अनुसार गत वर्ष ९ वटा बाल विवाहका घटना रोकिएका छन् भने २०७५ को ४ महिनाको अवधिमा ७ वटा घटना रोकिइसकेका छन् ।
जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष सञ्जय ओझाले जिल्लाका सबै बाल क्लबहरूले यो अभियानमा लाग्ने बताएका छन् । उनले भने, ‘हाम्रो सक्रियतामा जिल्लाका ३ सय बालिकाले यो अभियानमा प्रतिबद्धता जनाइसकेका छन् । आगामी दिनमा यसलाई अझै बढाउँछौँ ।’
प्रतिबद्धता पत्रमा ‘हामी २० वर्ष नपुगी विवाह गर्दैनौँ । समाजमा पनि २० वर्ष नपुगी विवाह गर्न दिँदैनौँ’ भन्ने उल्लेख गरिएको छ ।
जिल्लामा बालबालिकाको हकअधिकार सहभागिता र सिर्जनशीलताको क्षेत्रमा काम गर्दै आएको मकालु त्रिशक्ति समूह माट्स नेपालका अध्यक्ष सन्तोष चापागाईले अशिक्षा, गरिबी, बेराजगार, पुरातनवादी सोचका कारण बाल विवाह भए पनि पछिल्लो समय स्वयं किशोरकिशोरीहरू नै सक्रिय भएर बाल विवाहको विरुद्धमा लागेकाले यसमा सबैको साथ हुनुपर्नेमा जोड दिए ।
किशोरी समूहले रोकेका बाल विवाह घरपरिवारकै सहयोगमा पुनः भागी विवाह हुन थालेपछि भने समस्या भएको अभियानकर्मी बताउँछन् ।
जिल्लाका किशोरीहरूले शुरु गरेको अभियानमा परिवार लगायत जिल्लाका राजनीतिक दल, सरकारी तथा गैर सरकारी सङ्घ सस्थाहरू, नागरिक समाज, सञ्चारमाध्यम, र सरोकारवाला निकायले साथ दिन थालेका छन् ।