बिर्तामोडः कानुनले नेटवर्किङ व्यवसायलाई गैरकानुनी ठहर गरेको छ । तर, विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधि नेपालमा छिरेर सक्रिय रहँदा नेटवर्किङ व्यवसाय निरन्तर चलिरहेको हुनाले सर्वसाधारण ठगिने क्रम घटेको छैन ।

जटिल प्रकृतिका रोग निको पार्ने भन्दै देशभर ओरियन्स नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ । ओरियन्स कम्पनी भारतको चेन्नईमा दर्ता रहेको सो नेटवर्किङमा सक्रियहरू नै बताउँछन् । ओरियन्सले एलोपेथिक चिकित्सा पद्धतिलाई चुनैती दिँदै व्यवसाय दिन दुई गुना रात चौगुनाले बढाइरहेको छ । ओरियन्समा सक्रिय रहेकाहरूले डाक्टरले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई सो कम्पनीका उत्पादन बिक्री गरेर मोटो रकम लिने गरेको पाइएको छ ।

नेपालमा दर्ता नभएको सो संस्थाले नेटवर्किङ शैलीबाट ‘फ्रुट सप्लिमेन्ट’ बिक्री गर्दै आएको छ । रोग निको पार्ने भनेर बिक्री गरिएका उत्पादनलाई व्यवसायमा लागेकाहरू औषधी भन्न तयार छैनन् । ओरियन्सले आफ्नो उत्पादन नेपालका कुनाकाप्चासम्म बिक्री गर्दै आएको छ ।

सदस्य बिस्तार गरेबापत बोनस प्राप्त गर्न सकिने भन्दै नेपाली नागरिकसँग ओरियन्सले लाखौँको कारोबार गर्दै आएको छ । यस्तो कार्य पूर्वका जिल्लाहरूमा फस्टाएको छ ।

आयुर्वेदिक गुण भएकाले सोचेजस्तो छिटो रोग निको हुँदैन भन्दै रकम असुली गर्नमा केन्द्रित रहेका छन् । ओरियन्सको उत्पादन प्रयोग गर्दा निको हुनुभन्दा पनि लाखौँ रुपैयाँ ठगीमा पर्ने गरेको झापाको भद्रपुर नगरपालिका –७ का पदम गिरीले बताए ।

ओरियन्सको उत्पादन प्रयोग गरे पनि गिरीको रोग निको भएन । रोग अझ जटिल बन्दै गएको गिरीले बताए । उनले खिन्न हुँदै भने, ‘अन्त्यमा अस्पताल नै जानुप¥यो ।’ रोग पूर्ण रूपमा निको हुन्छ भन्ने आश्वासन पाएर बुबाआमालाई समेत प्रयोग गर्न लगाएको गिरीले बताए । आफूजस्तै स्थानीय ५२ जना ठगीमा परेको उनी सुनाउँछन् ।

‘फुड सप्लिमेन्ट’ भएका कारण यो औषधी भने नभएको नेटवर्किङमा संलग्न व्यक्तिले बताए । झापाकै भद्रपुर नगरपालिका –७ की सुनमाया श्रेष्ठले पनि ओरियन्सको उत्पादन प्रयोग गरिन् । ओरियन्सको उत्पादन केही समय सेवन गरिन् तर, उनको रोग निको भएन ।

लाखौँ खर्च हुने तर जटिल प्रकृतिका रोग निको नभएका मानिसहरूले बढी मात्रमा ओरियन्सका उत्पादन प्रयोग गर्ने गरेको बताइन्छ । ओरियन्सका उत्पादनमा कुनै पनि प्रकारको रसायन मिसावट नहुने कारणले गर्दा यसलाई औषधी भन्न नमिल्ने व्यवसायमा लागेकाहरू बताउँछन् ।

५ वर्षभित्र समृद्ध नेपाल बन्ने र सबैले ओरियन्सकै उत्पादन प्रयोग गर्ने दाबीसमेत कम्पनीका प्रचारकहरू गर्दछन् । यो ‘फुड सप्लिमेन्ट’ नेपालीका लागि महङ्गो भएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रचारकले बताए ।

आफूले सदस्य बनाएको व्यक्तिले सदस्य बिस्तार गरे उसले बोनस पाउने एक प्रचारकले बताए । आफूले गरेको काम हेरी नाफा प्राप्त हुने प्रचारक बताउँछन् । दिनानुदिन यसको अभियानमा लाग्नेको सङ्ख्या बढेकाले यसबाट प्रभावित हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

यसले गर्दा धेरै मानिस रोग निको हुने आशमा लाखौँ रुपैयाँ खर्च गर्न लागिपरेका छन् । ओरियन्सको गतिविधि र प्रक्रिया हेर्दा विगतको युनिटी नेटवर्किङ जस्तै छ । ओरियन्समा लागेकाहरूले नाम सार्वजनिक गर्न नचाहनुले पनि यो व्यवसाय गैरकानुनी छ भन्ने सङ्केत गर्छ । सर्वसाधारण कसैको भनाइमा फकिनु र लाखौँ रुपैयाँ उनीहरूले ओरियन्सका उत्पादनमा खर्चँदा नेपाली रुपैयाँ भारत जाने क्रम पनि बढेको छ ।

झापाबाट पक्राउ
ओरियन्सको प्रचार र ठगीमा संलग्न ३ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका खुट्टेडाँगीबाट तुलसीपुर उपमहानगरपालिका –९ दाङकी कृष्ण शाही ठकुरी, त्रिवेणी गाउँपालिका रोल्पाकी मेनुका घर्ती मगर र बर्दगोरिया गाउँपालिका कैलालीका चक्रबहादुर बोहोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दाङकी गायत्री थापा र बैतडीका धनबहादुर बिष्टले जिल्ला प्रहरी कार्यालय झापामा ठगीको उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठ बताउँछन् ।

उनीहरूले मेचीनगरस्थित धुलाबारीको खुट्टेडाँगीमा कोठा भाडामा लिएर नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । पक्राउ पर्नेलाई म्याद थप गरी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले बताएको छ ।

व्यवसायमा लाग्नका लागि अन्य २१ जनालाई प्रशिक्षण दिइरहेको सूचना प्राप्त भएसँगै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेश मैनालीले बताए । १३ महिला र ८ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रमुख मैनालीले बताए ।

नियन्त्रणमा लिइएकाहरू कैलाली, रोल्पा, डोल्पा, दाङ, सल्यान, अछाम, बैतडी लगायतका पश्चिम नेपालका युवायुवती रहेको प्रमुख मैनाली बताउँछन् । उनीहरूले प्रलोभनमा पारी विभिन्न जिल्लाबाट मानिस ल्याउने र प्रशिक्षण दिने काम गर्दै आएको खुलेको छ ।

केही दिनअघि मात्र प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ बाट अन्दाजी ५ लाख रुपैयाँबराबरको ओरियन्स कम्पनीको उत्पादनसहित पक्राउ गरेको थियो ।अवैध रूपमा नेपाल भित्र्याइएका ओरियन्सका २ कार्टुन उत्पादन बरामद भएको थियो ।