इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सडक सुशासन कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सडक र खोला मिचेर बनाएका संरचना भत्काउने अभियान अन्तर्गत बुधबार बिहान इटहरी–१७ को प्रिन्स होटल एण्ड लजको कम्पाउण्डवाल र एस एण्ड एस वर्कसप इटहरी–१७ को सवारी साधन सफा गरिने स्थल डोजर लगाएर भत्काइएको हो ।
डोजरसहित पुगेका मेयर चौधरीले गत साल भदौमा थालिएको सडक क्षेत्राधिकार सुरक्षित गर्ने अभियान जारी रहेको बताए । पूर्व पश्चिम राजमार्गको इटहरीस्थित सडक छेउछाउ रामधुनीको सिमानैसम्म यो अभियान जारी रहने उनले बताए ।
बुधबार बिहानै खर्सेला खोलाको समेत सफाइ गरिएको थियो । केही दिन अघि मेयर चौधरीले आफ्नो घरको कम्पाउण्ड वालको पर्खालले सडक क्षेत्राधिकार मिचेको भन्दै डोजर लगाएर पर्खाल भत्काएका थिए ।