बिर्तामोडः काँकडभिट्टा नाकाबाट आयात हुने माछाको दर घट्दो क्रममा छ । आर्थिक वर्ष २०७०÷०७१ मा २ हजार ७९ मेट्रिक टन आयात भएको माछा २०७५÷०७६ मा १ हजार ३ सय ८२ मेट्रिकटनमा झरेको एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कमा छ ।

विगत ५ वर्षदेखि आयात क्रमशः घट्दो दरमा रहेको क्वारेन्टाइन कार्यालयले जनाएको छ । ५ वर्ष यता माछा आयातमा ६० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाउँछ । काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा खपत हुने गरेको छ ।

क्वारेन्टाइन ऐन अनुसार मात्र आयात गर्ने अनुमति दिने प्रावधान बनेसँगै आयात घटेको हो । अहिले व्यवसायीले सम्बन्धित मुलुकबाट स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्नुपर्ने ऐन छ । स्वस्थताको प्रमाणपत्रसहित माछा आयात गर्न नसकेपछि व्यापारी स्वतः यस व्यवसायबाट पलायनसमेत भएका छन् ।

माछा आयात बन्द गर्नका लागि सरकारले किसानलाई माछापालनमा अनुदान उपलब्ध गराउन थालेपछि विगत ५ वर्षयता आयात घटेको एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंहले बताए ।

‘नेपालमा ताजा माछा उपलब्ध भएका बेला भारतीय माछा बिक्री हुँदैन’, प्रमुख सिंहले भने, ‘हाम्रो बजारमा भारतीय माछाको माग घटेपछि व्यापारीले आयात घटाएका हुन् ।’ नेपालमा व्यावसायिक रूपमा माछा पालन गर्ने क्रम शुरु भएपछि आयात घट्नु अर्काे कारण रहेको सिंहको भनाइ छ ।

एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले फर्मालिन किटको मद्दतले माछा परीक्षण गर्दै आएको छ । यसरी जाँच गर्ने गरिएका कारण व्यापारीले फर्मालिन प्रयोग गरेका माछा ल्याउन बन्द गरेको सिंह बताउँछन् ।

‘बरफमा राखेर ढुवानी गर्दा ६ महिनासम्म माछा उपभोग गर्न योग्य हुन्छ’, सिंहले भने, ‘फर्मालिन हालेको छ भने त्यो खानु हुँदैन, फर्मालिन प्रयोग गरेको माछालाई हामीले फिर्ता गर्ने गरेका छौँ । अहिले आयात हुँदै आएको माछामा फर्मालिन प्रयोग गरेको भेटिएको छैन ।’ माछालाई सड्न नदिन फर्मालिन नामको विषादी प्रयोग गर्ने गरिएको पाइएकाले कडाइ गरिएको बताइन्छ ।

एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख सिंहले बजारमा स्वदेशी माछाको कारोबार बढी रहेको बताए पनि बिर्तामोडको कृषिथोकमा रहेका अधिकांश माछा पसलमा भारतीय माछाको बिक्री धेरै हुन्छ । कानुनी प्रक्रिया पूरा नगरी भित्रिएका माछामा कडाइ गरे पनि बिक्रेता र उपभोक्ता दुवैको रोजाइमा अझै पनि भारतीय माछा नै छ ।

बिर्तामोडको कृषि थोक बजारका थोक बिक्रेता कृष्ण मेचे नेपाली माछा छोटो समयमा नै मर्ने भएकाले भारतीय माछा बिक्री गर्दै आएको बताउँछन् । ‘स्वदेशी माछा दुई दिन सम्म पनि टिक्दैन’, मेचेले भने, ‘दिनभर पानीमा राख्यो भोलिपल्ट मरिरहेको हुन्छ । यसले गर्र्दा भारतीय माछा नै बिक्री गर्नुपर्ने अवस्था छ ।’

स्वदेशी माछाको तुलनामा भारतीय माछा स्वादिलो हुने भएकाले भारतीय माछा नै खाने गरेको कृषि थोक बजारमा माछा किन्न आएकी बिर्तामोडकी हिना चौधरी बताउँछिन् ।

झापामा वास्तविक तथ्याङ्क नभए पनि ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा माछापालन गर्दै आएको अनुमान छ । जिल्लामा गत वर्ष ४ मेट्रिक टन माछा उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा माछा ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ ।

सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।