इटहरीः एक प्रदेश एक रङ्गशालाको अवधारणा अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं १ मा प्रदेशस्तरीय रङ्गशाला निर्माण कार्य तीव्र बनाएको छ । प्रदेश १ का मुख्य शहर विराटनगर, धरान र इटहरीमै व्यवस्थित खेल मैदान छन् । त्यसमा पनि इटहरीमा १७ खेलको पूर्वाधार तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रादेशिक रङ्गशाला बनाउने विषयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले विशेष पहल शुरु गरेको बताएका छन् । प्रदेश नं १ खेलकुदको लागि उर्वर भूमि भएकाले खेलकुद विकासको लागि आवश्यक संरचना निर्माणमा ध्यान दिएको उनको भनाइ छ । केही दिन अगाडि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग खेदकुदको विकास र प्रादेशिक रङ्गशालाको विषयमा कुराकानी गरे ।

तर कहाँ प्रादेशिक रङ्गशाला बनाउने भन्ने कुनै निर्णायक कुराकानी नभएको विष्टले बताए । प्रादेशिक रङ्गशालाको विषयमा प्रदेशले नै निर्णय गर्ने भएको हुँदा राखेपले कुनै हस्तक्षेप नगर्ने उनको भनाइ छ । इटहरीले प्रादेशिक रङ्गशाला धान्न सक्ने उनी बताउँछन् । खासमा प्रादेशिक रङ्गशालाको विषय त्यति पेचिलो नभए पनि इटहरीमा नेपालकै नमुना स्पोर्ट कम्प्लेक्स बन्ने उनको भनाइ छ । त्यही शैलीमा सामान्य विकास मन्त्री घिमिरे पनि इटहरीमा प्रादेशिक रङ्गशाला बन्न सक्ने बताउँछन् । इटहरीमा पर्याप्त पूर्वाधार भएकाले त्यसको सम्भावना बढी भएको उनको भनाइ छ । तथापि यस विषयमा ठोस निर्णय नभएकाले अहिले नै केही भन्न नसक्ने उनको भनाइ छ । २०७१ सालमा क्षेत्रीय रङ्गशालाको लागि इटहरी र धरानमा आन्दोलन भयो । तर पनि क्षेत्रीय रङ्गशाला कहाँ हुने भन्ने टुङ्गो लाग्न सकेन ।

राखेपको १ करोड २० लाख सहयोगमा निर्माण कार्य शुरु भएको सो रङ्गशालामा हाल भिआइपी प्याराफिट निर्माणको लागि १६ करोडको टेण्डर लागिसकेको छ । अहिले इटहरीमा फुटबल, भलिबल, तेक्वान्दो हल, उसु हललगायत १७ विधाका खेलकुदको लागि पूर्वाधार तयार भइसकेका छन् । त्यस्तै धरान पनि खेलकुदको उर्वर शहर मानिन्छ । २०७१ सालमा निर्माण भएको धरान रङ्गशाला र २०५९ मा निर्माण भएको एन्फा टेक्निकल सेन्टर धरानका प्रमुख आकर्षण हुन् । फुटबल, एथलेटिक्स र पौडीको लागि पूर्वाधार निर्माण भइरहेको छ ।

बुढासुब्बा गोल्डकपले पनि परिचित छ धरान । धरानमा प्रादेशिक रङ्गशाला बनाउने विषयमा कुनै पहल नभएको बताउँछन् अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष किशोर राई । इटहरीमै प्रादेशिक रङ्गशाला भए कुनै समस्या नहुने उनको भनाइ छ । विराटनगर भौगोलिक हिसाबबाट पनि उपर्युक्त नहुने भन्दै त्यसको विकल्प धरान वा इटहरी हुने बताउँछन खेलकुद विकास समिति धरानका अध्यक्ष सुवास राई । धरान भौगोलिक हिसाबले पनि उपर्युक्त क्षेत्र भएको र यहाँका जनतामा खेलकुदप्रतिको प्रेम धेरै भएकाले धरान नै उपयुक्त हुने उनको तर्क छ । धरानमा भएन भने पनि इटहरीमा नै प्रादेशिक रङ्गशाला भए पनि कुनै समस्या नहुने उनको भनाइ छ । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा १५ बिघा जग्गामा क्रिकेट फुटबल, सुटिङ हल निर्माणाधीन अवस्थामा छन् ।

राखेपकै सहयोगमा उक्त रङ्गशाला निर्माण भइरहेको छ । जसलाई प्रादेशिक रङ्गशाला बनाउन सकिने धेरैले अनुमान गरिरहेका छन् । मोरङ खेलकुद विकास समितिका पूर्व अध्यक्ष किशोरलाल अमात्य पर्याप्त जग्गा भएकाले विराटनगरमा नै प्रदेशको रङ्गशाला बन्नुपर्ने बताउँछन् । हुन त इटहरीमा पूर्वाधारयुक्त रङ्गशाला निर्माण भइसकेको भए पनि क्षेत्रीय रङ्गशालाको लागि विराटनगर नै उपर्युक्त हुने उनको भनाइ छ । तर, सदस्य सचिव विष्टले घुमाउरो शैलीमा इटहरीले आफ्नो भौतिक पूर्वाधार तयार पारेको हुनाले यसको सम्भावना बढी रहेको बताउँछन् । ‘इटहरीले प्रादेशिक रङ्गशाला बन्न सक्ने आधार तयार पारेकोजस्तो लाग्छ,’ उनी भन्छन्, ‘भौगोलिक र प्राविधिक हिसाबले पनि इटहरी उपर्युक्त छ ।’

२०७५ साललाई नेपालको खेलकुद इतिहासमा स्वर्ण वर्ष बनाउने उनी बताउँछन् । एउटा प्रदेशमा फरक-  फरक ठाउँमा ट्रेनिङ सेन्टरको रूपमा विकास गराउन सकिने बिष्ट बताउँछन् । ३ नं प्रदेशको लागि हेटौंडाको बौद्धमा ट्रेनिङ सेन्टर निर्माणाधीन अवस्थामा छ । त्यस्तै, विराटनगरमा निर्माणाधीन संरचनालाई ट्रेनिङ सेन्टर बनाएर इटहरीलाई प्रादेशिक रङ्गशाला बनाउन सकिने उनको तर्क छ । इटहरीकै अनुपातमा पोखरामा पनि स्पोर्ट कम्प्लेक्सको तयारी भइरहेको छ ।