इटहरीः आँखा दान गर्नलाई आँखाको नानी सङ्कलन केन्द्र नभएको इटहरीमा अब केही महिनाभित्र आँखाको नानी सङ्कलन केन्द्र सञ्चालन हुने भएको छ । आँखाको नानी अर्थात् कोर्निया सङ्कलन गर्न इटहरीमा अभाव भइरहेको भए पनि अब चाँडै सञ्चालन गर्न लागिएको इटहरीको नवदृष्टि आँखा अस्पतालले बताएको छ ।
२०७५ माघ १ गतेबाट सञ्चालनमा आएको इटहरीको पूर्व लाइनमा रहेको नवदृष्टि आँखा अस्पतालले यही वर्षभित्र आँखाको नानी सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने अस्पताल सञ्चालक तथा आँखा विशेषज्ञ विजय गौतमले बताए ।
गौतमका अनुसार हाल प्रदेश १ मा विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमा मात्रै आँखाको नानी सङ्कलन केन्द्र रहेका छन् । इटहरीमै केन्द्र खुलेपछि आँखाको नानी प्रत्यारोपण गर्न सहज हुने गौतमले बताए ।
आँखा दान गर्ने व्यक्तिको मृत्यु भएको ६ घण्टाभित्र सङ्कलन गरिएको आँखाको नानी प्रत्यारोपण गर्न सकिने गौतमले बताए । इटहरीको बुढी खोलामा रहेको दाहसंस्कार स्थलनजिकै अस्पताल भएकाले आँखा दाताबाट नानी लिन पनि सहज रहेको गौतमले बताए ।
कसले दिन सक्छन् आँखाको नानी ? आँखाको नानी प्रत्यारोपण गर्दा कति रकम तिर्नुपर्छ ?
डाक्टर गौतमका अनुसार नेपालमा जोसुकैले चाहेमा आँखा दान गर्न सक्छन् । आफ्नो मृत्युपछि आफ्नो आँखा दान गर्ने प्रचलन बढेर गएको डाक्टर गौतम बताउँछन् ।
आफ्नो मृत्युपछि आफन्तले अस्पतालमा जानकारी दिएमा दान दिएको आँखाको नानी सङ्कलन हुने र आवश्यक परेको व्यक्तिालाई दिइने डाक्टर गौतमले बताए ।
दान दिइएको आँखा सङ्कलन केन्द्रबाट काठमाडौंमा रहेको नेपाल आँखा बैंकमा प्रशोधन भएर सुरक्षित हुने उनले बताए । सोही सुरक्षित नानी आवश्यक परेका व्यक्तिलाई प्रत्यारोपण गरिने गौतमले बताए ।
आँखाको नानीमा समस्या भएका र आँखाको ज्योति गुमाएकाहरूले नानी पाएपछि नयाँ जीवन पाउने गौतमले बताए । उनले भने, ‘कर्निया (आँखाको नानी) मा समस्या हुनेले नानी प्रत्यारोपणबाट ज्योति पाउँछन् तर रेटिनामा समस्या हुनेले भने कर्नियाबाट ज्योति पाउन असम्भव हुन्छ ।’
दान गरेर सुरक्षित भएको आँखा प्रत्यारोपण शुल्क १० हजार रुपैयाँ रहेको गौतमले बताए । ७ हजार रुपैयाँ आँखा बैंकको प्राविधिक शुल्क र प्रत्यारोपणमा ३ हजार गरेर १० हजारमा आँखाको नानी नवदृष्टि आँखा अस्पतालमा प्रत्यारोपण गर्ने तयारी भएको गौतमले बताए ।
नेपाल आँखा बैंकले ठाउँठाउँमा आँखाको नानी सङ्कलन केन्द्र खोल्ने बताउँदै उनले भने, ‘म आफै कर्निया (आँखाको नानी) को विशेषज्ञ भएकाले चाँडै कर्निया कलेक्सन सेन्टर खोल्न लागि परेका छौँ ।’