बेलबारीः खेत जोत्दै गर्दा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।

धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार चटयाङ लागेर घटनास्थलमै मृत्यु भएको हो । घरदेखि लगभग २ सय मिटर पर रहेको खेत हिल्याउँदै गर्दा मण्डलसहित उनले जोतिरहेका हल गोरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर कवीन्द्र कार्कीले बताए । कार्कीका अनुसार मण्डलको शव जिल्ला अस्पताल रङ्गेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङ लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीया लक्ष्मीदेवी कविरथ घाइते भएकी छिन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनको कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।