झापाः नेपाल सरकारले व्यावसायिक माछापालनका लागि रकम अनुदान दिन थालेलगत्तै भारतीय माछाको आयातमा कमी आएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार ६ वर्षयता पूर्वी नाकाबाट हुने माछाको आयात क्रमशः ओरालो लाग्दैछ । कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७०÷२०७१ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा माछाको आयातमा उतारचढाव देखिन्छ ।

आर्थिक वर्ष २०७०÷२०७१ मा पूर्वी नाका भएर २ हजार ७९ दशमलव ८४ मेट्रिक टन माछा आयात भएको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ मा १३ दशमलव ८२ मेट्रिक टन मात्र माछा आयात भएको तथ्याङ्क कार्यालयसँग छ । कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिंहका अनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा १२ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०७१÷०७२ मा यो नाका हुँदै २ हजार १ सय ८ दशमलव ६६ मेट्रिक टन माछा आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ २०७४ मा १ हजार ६ सय ७४ दशमलव ९८ मेट्रिक टन मात्र माछा आयात भएको तथ्याङ्क कार्यालयसँग छ । त्यस्तै, आर्थिक वर्ष २०७२÷०७३ मा १ हजार ७ सय ३६ मेट्रिक टन माछा आयात भएको थियो ।

नेपाल सरकारले व्यावसायिक माछापालक किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यावसायिक माछा पालनमा किसानको आकर्षण बढेको उनको भनाइ छ ।

जीएसटी लागू भएपछि माछाका भुराको आयात शून्य
यसैगरी, व्यावसायिक रूपमा नेपालमा माछा पाल्न थालेपछि भारतबाट हुने माछाको भुराको आयात भने बढेको थियो । तर, गत आर्थिक वर्ष २०७५÷०७६ मा भुराको आयात पनि शून्यमा झरेको छ ।

पछिल्लो समय भारतले जीएसटी अनिवार्य गरेसँगै भारतबाट माछाका भुरा आउने क्रम रोकिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७०÷०७१ मा पूर्वी नाका भएर २५ लाख ६३ हजार ओटा माछाका भुरा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष २०७१÷०७२ मा त्यो सङ्ख्या बढेर ३२ लाख ८८ हजार ४ सय पुगेको थियो ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा २० लाख २ हजार ओटा माछाका भुरा आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ २०७४ मा त्यो सङ्ख्या ६ दशमलव ५५ प्रतिशतले बढेर २१ लाख ३१ हजार ४ सय ओटा पुगेको थियो । आर्थिक वर्ष २०७४÷२०७५ मा आइपुग्दा सो सङ्ख्या पनि १ लाख ८३ हजार १ सय ओटामा झरेको पशु चिकित्सक सिंहले बताए ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा भने भुराको आयात शून्य रहेको छ । देशका विभिन्न भागमा व्यावसायिक रूपमा माछा पालन शुरु भएर आफ्नै देशमा माछा उत्पादन हुन थालेपछि माछाका भुराको आयातमा वृद्घि हुने गरेको थियो र तर, जीएसटीका कारण पछिल्लो वर्ष आयात ठप्प छ । माछाको भुराको आयातमा कमी आउनुमा भारतले लगाएको जीएसटी नै भएको सरकारी अधिकारीको भनाइ छ ।

नेपालमै धमाधम माछा पालन हुन थालेपछि माछाको आयातमा कमी भएसँगै सिद्रा माछाको मागसमेत नेपालमा घटेको छ । फ्रेस माछा स्थानीय स्तरमै उत्पादन हुन थालेपछि उपभोक्ताको आकर्षण सिद्रा माछामा घटेका कारण माग घटेको हो ।

आर्थिक वर्ष २०७०÷०७१ मा ८८ दशमलव ५३ मेट्रिक टन आयात भएको सिद्रा माछा आर्थिक वर्ष २०७१÷०७२ मा एक्कासी बढेर २ सय ६८ दशमलव १६ मेट्रिक टनमा उक्लिएको थियो । त्यसपछिका वर्षमा यो आयात ओरालो लागेको छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ५ दशमलव ९८ मेट्रिक टनमा सिद्रा आयात भए पनि लगत्तै आर्थिक वर्ष २०७३÷२०७४ मा पूर्वी नाका भएर ८३ दशमलव १ सय १४ मेट्रिक टन मात्र सिद्रा आयात भएको थियो । यो सङ्ख्या आर्थिक वर्ष २०७२÷ ०७३ को तुलनामा २१ दशमलव ५८ प्रतिशले कमी हो । त्यो वर्ष १ सय ५ दशमलव ९ सय ८७ मेट्रिक टन सिद्रा माछा आयात भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷२०७५ मा ७६ दशमलव ३६ तथा गत आर्थिक वर्ष २०७५÷२०७६ मा ७५ दशमलव ५ प्रतिशत मेट्रिक टन सिद्रा माछा आयात भएको छ ।