इटहरी/ इटहरी उपमहानगरमा प्लस टु देखि स्नातकोत्तरसम्म पढाइ हुने एक्लो सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसको हाताभित्र क्यान्टिन सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयल अनुदान आयोगले दिने गुणस्तरको एक आधार मानिने ‘क्याुएए’को लागि यसरी क्यान्टिन सञ्चालन हुन लागेको हो ।

क्वालिटी एस्योरेन्स एक्रिडिटेसन भनिने क्युएए प्राप्त हुनलाई कलेज हाताभित्र सहुलियतको स्तरीय क्यान्टिन हुनुपर्ने भएकाले यस्तो गर्न लागिएको कलेज प्रशासन स्रोतले बताएको छ । क्यान्टिन भोलिदेखि सञ्चालन हुने जानकारी क्यान्टिन सञ्चालनको टेन्डर पारेका होमनाथ धमला र सुनिल कार्कीले बताए ।

क्युएएको लागि आवश्यक मापदण्ड हेर्नलाई विश्वविद्यालय अनुदान आयोगबाट प्रा.डा. मनप्रसाद वाग्ले नेतृत्वमा गोपाल आचार्यसहितको समूह मङ्गलबार क्याम्पसमा आउँदैछ । आचार्य क्युुयुए कार्यक्रम अधिकृत हुन् । मङ्गलबारबाट सञ्चालन हुने क्यान्टिनले सहुलियतमा खाजाहरू दिने सञ्चालक सुनिल कार्की बताउँछन् । उनका अनुसार ३० देखि ५० रुपैयाँमा चिया र सामान्य खाजा प्याकेज दिने दर राखिएको छ ।

क्याम्पस प्रमुख भोजराज श्रेष्ठले जनता क्याम्पसमा पहिलो पटक यसरी व्यवस्थित क्यान्टिन सञ्चालन हुन लागेको बताए । २०४५ सालमा शुरु भएको क्यान्टिन २०६२ सम्म सामान्य रूपमा चलेको तर त्यसपछि बन्द भएको क्याम्पस प्रमुख श्रेष्ठ बताउँछन् ।