बिर्तामोडः आर्थिक वर्ष २०७५÷२०७६ मा मेची भन्सारबाट कार्यालय काँकरभिट्टाबाट १३ अर्ब ७ करोड ३९ लाख ९ हजार ४५ रुपैयाँको कोइला आयात भएको छ । कार्यालयले कोइला आयातबाट ७४ करोड ६५ लाख ८४ हजार ३३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

काँकरभिट्टा नाकाबाट १० अर्ब ३९ करोड ४८ लाख ८१ हजार ३ सय १४ रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले पेट्रोलियम पदार्थ आयात गरेबापत २ अर्ब ८१ करोड ५४ लाख ८२ हजार ६ सय २५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । काँकरभिट्टा नाका हुँदै आउने सामग्रीमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ आयातबाट हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा १ अर्ब ९७ करोड ८१ लाख २१ हजार ५ सय ४५ रुपैयाँ बराबरको कालो सिमेन्ट (क्लिङ्कर) आयात भएको छ । क्लिङ्कर आयातबाट ८४ करोड ५७ लाख ४४ हजार २ सय २८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसपछि क्रमशः जुस, डिस होम रिसिभर सेट, रेडिमेड गार्मेन्ट, जिप्सम, रेजिन, फेस भेनियर, जुत्ता आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५÷२०७६ मा मेची भन्सार कार्यालय काँकरभिट्टाबाट सबैभन्दा धेरै अलैंची निर्यात भएको छ । यस आर्थिक वर्षमा मेची भन्सारबाट २ अर्ब ९७ करोड ८९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।

आर्थिक वर्ष २०७५÷२०७६ को अन्त्यसम्मको तथ्याङ्कलाई हेर्दा मेची भन्सार कार्यालयबाट २ अर्ब ९४ करोड २८ लाख ६० हजार ५ सय ३५ रुपैयाँको चिया निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विगतका आर्थिक वर्षलाई हेर्ने हो भने काँकरभिट्टा नाका हुँदै सबैभन्दा धेरै चिया निर्यात हुने गरेको थियो । चिया क्षेत्रमा ४५ दिनसम्म चलेको आन्दोलनका कारण यस वर्ष चिया निर्यात घटेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।

निर्यातजन्य वस्तुको तेस्रो स्थानमा जस्तापाता रहेको छ । मेची भन्सारबाट १ अर्ब ७४ करोड ३० लाख ४६ हजार ९६ रुपैयाँ बराबरको जस्तापाता निर्यात भएको छ ।

जस्तापाताको निर्यात दर प्रत्येक वर्ष बढ्दो क्रममा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । यस नाकाबाट आर्थिक वर्ष २०७५÷२०७६ मा १ अर्ब २४ करोड ३८ लाख ३४ हजार ७ सय ६७ रुपैयाँको मुसुरोको दाल निर्यात भएको छ । निर्यातजन्य वस्तुको चौथो स्थानमा मुसुरोको दाल रहेको छ ।

त्यस्तै, ३६ करोड ५५ लाख ३० हजार, ९ सय ८१ रुपैयाँको अम्लिसो निर्यात भएको छ । अम्लिसोलाई पहाडी भेगको मुख्य नगदेबालीअन्तर्गत लिइन्छ । काँकरभिट्टा नाका हुँदै निर्यात हुने प्लास्टिकको बिर्को, तामाको तार, ट्रान्सफर्मर, स्टील पोल, मूर्तिलगायतका वस्तुको निर्यात दर पनि बढ्दो क्रममा देखिन्छ ।