विराटनगरः विगत ५१ वर्षदेखि विराटनगरमा हुँदै आएको श्रीकृष्णको रथयात्रालाई यस पटक विशेष सुरक्षा निगरानी गरिने भएको छ ।

विराटनगरको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सुरक्षा अधिकारीले उच्च सुरक्षा दिन लागेको रथयात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विशाल रथयात्रा निकालिन्छ । यसलाई दक्षिण एशियाको ठूलो रथयात्राको रूपमा दाबी गरिएको छ ।

घोडाद्वारा रथ तानिँदै
यस पटकको रथयात्रालाई विशेष बनाउन घोडाद्वारा रथ तान्ने व्यवस्था गरिएको छ । त्यस्तै, मुुख्य मन्त्रीद्वारा रथयात्राको उद्घाटन गरी हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिएका छन् ।

अहिले विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरलाई सजाइएको छ । मुुख्य रथमा राखिने राधा र कृष्णको जोडीलाई सिँगारिएको छ भने अन्य सहायक दर्जनौँ रथ तयार गरिएको छ । सुरक्षा निगरानीका लागि चोक चोकमा नेपाल प्रहरी र सशस्त्रको सुरक्षा गस्ती बनाइएको छ ।

केही समयपछि तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरु हुने रथयात्राले मुुख्य बजार परिक्रमा गरी पुनः राधाकृष्ण मन्दिरमै आएर रथयात्रा समापन हुने आयोजकले जनाएको छ ।