इटहरीः दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा सात दिने भ्रमणको लागी प्रदेश १ को टोली चिन प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पौने पाँचको उडानबाट नेपाली टोली छेन्दु विमानस्थल प्रस्थान गरेका छन् ।
चीनको सिचुवान प्रान्तको साङ्दोङ हुआजिया वाटर को. लिमिटेडको आमन्त्रणमा नेपाली टोली चिन प्रस्थान गरेको हो । भ्रमण दलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिय प्रसाद कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) सहितको नेपाली भ्रमण दलमा सांसदहरू सर्वध्वज सावाँ, तेजमान कन्दङ्वा र बिन्दिया कार्की रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि रिजाल र सहसचिव टिकादत्त राई र प्रदेश उद्योग वाणिज्य सङ्घ प्रदेश १ समितिका उपाध्यक्ष राजेन्द्र राउत र मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव मकर खड्का भ्रमण दलमा रहेका छन् ।
यही वर्षको जुलाई ३ र ४ मा प्रदेश १ आएको चिनिया टोलीले नेपाली टोलीलाई पनि चीनको औद्योगिक क्षेत्रको भ्रमणमा आउन निम्ता दिएको हो । भ्रमण दलका सबै सदस्यको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।