इटहरीः रानी–धरान ६ लेन सडक खण्डको इटहरीको चोक उत्तरदेखि हलगडासम्म वर्षापछि अवैध संरचना भत्किने भएका छन् ।

उत्तर– दक्षिण÷व्यापारिक लोकमार्ग बिस्तार आयोजना निर्देशनालयको रानी–विराटनगर– इटहरी– धरान सडक आयोजना कार्यालय इटहरीका इञ्जिनियर गौतम देवले पानीको कारणले मात्रै काम नभएको बताए ।

हालै सरुवा भएर आयोजनाको इटहरीस्थित कार्यालयमा आएका देवले अवैध संरचना हटाएपछि मात्रै अरु काम अगाडि बढ्ने बताए ।

इटहरीको हलगडा सम्मको सडक क्षेत्र ६५ फिट सडक कायम हुने कुरा ‘हल्ला’मात्रै भएको इन्जिनियर देवले बताए । उनले भने, ‘सडकको आधिकारिक क्षेत्रभित्रका सबै भौतिक संरचना भत्किनेछन् ।’ सडक क्षेत्रका रुख काटिसकिएको बताउँदै देवले अब स्थायी संरचना हटाउने बताए । उनले भने, ‘आयोजना, स्थानीय सरकार र प्रशासनको संयुक्त पहलमा संरचना भत्किनेछन् ।’

कति क्षेत्रका संरचना भत्किन्छन्?
राजमार्गको सडकको बीच भागबाट दुवै तिर २५÷२५ मिटर कायम हुनेगरी सडक बन्ने देवले बताए । देवका अनुसार रानी–धरान ६ लेनको ४९ किलोमिटर क्षेत्रमा हाल ३२ दशमलव ६४ किलोमिटरमा काम भइरहेको छ । दुहबीको बुढी खोला पुलबाहेक विभिन्न १४ खण्ड बनाएर हाल सडक निर्माण भइरहेको र इटहरीदेखि तरहरासम्म २ खण्डमा काम भइरहेको देवले बताए ।

इटहरीदेखि आँपगाछी यातायात कार्यालय सम्म र यातायात कार्यालयदेखि तरहरासम्म २ खण्डमा काम भए पनि एकैनासले काम भइरहेको देवले बताए । उनले भने, ‘इटहरीदेखि तरहरासम्म ५० मिटर चौडाको सडक बन्छ । यसमा सडकको पिच भएको क्षेत्र ३३ दशमलव २० मिटर हुन्छ । यो भनेको १ सय ९ फिट हो ।’ १ सय ९ फिट त सडकको पिच भएको क्षेत्र हुने भन्दै इन्जिनियर देवले यसबाहेक ३ मिटरको हरियाली क्षेत्र २ मिटरको ढल क्षेत्र हुने बताए । यस बाहेक रिटेनिङ वालको थप क्षेत्र पनि सडकमा एकै नासले अटाइने उनले बताए ।

यी हुन् इटहरी क्षेत्रको ६ लेन सडक परियोजनामा काम गर्ने कम्पनी
उत्तर– दक्षिण÷व्यापारिक लोकमार्ग बिस्तार आयोजना निर्देशनालयको रानी विराटनगर इटहरी धरान सडक आयोजना कार्यालय इटहरीका अनुसारइटहरीदेखि आँपगाछीसम्म स्वच्छन्द, कान्छाराम र सैलुङ जेभीले संयुक्त काम गरिरहेका छन् । यस्तै, आँपगाछीदेखि तरहरासम्मको सडकमा भने आशिस, सन्तोषी र लिम्बीनि जेभी नामका ठेकेदार कम्पनीले काम गरिरहेका छन् ।

ढलको काम गर्ने, कालोपत्रे गर्ने र बिजुलीको पोल सार्ने कामको सम्झौताअनुसार धमाधम काम भइरहेको छ । इटहरीदेखि तरहराको ४ किलोमिटरका दुवै खण्डमा समान ८९ करोड ९ लाख ५८ हजार ५ सय रुपैयाँ बजेटमा काम भइरहेका छन् ।

कानुनी जटिलताले विराटनगर, दुहबी र इटहरी क्षेत्रमा फरकफरक मापदण्को सडक बन्दै
रानी, दुहबी, इटहरी हुँदै धरानसम्म पुग्ने राष्ट्रिय गौरवको आयोजना हो ६ लेन सडक परियोजना । ६ लेन सडक समान हुनुपर्ने भए पनि कानुनी जटिलताको कारणले सबैतिर एकनास नभएको परियोजनाको भनाइ छ । इटहरीदेखि तरहरा क्षेत्रमा भने कुनै कानुनी जटिलता नभएकाले काम गर्न सहज भएको परियोजनाको भनाइ छ ।

‘रानीदेखि इटहरी चोकसम्म सडकको मध्य भागबाट १५÷१५ मिटर चौडाइको सडक बन्छ’, देवले भने, ‘इटहरी चोकदेखि तरहरासम्म भने २५÷२५ मिटर सडकको मध्य भागदेखि दुवैतिर फैलिएको सडक बन्छ ।’

रानी–धरान सडक खण्डमा दुहबीको बजार क्षेत्रमा बाहेक अन्त कतै कानुनी समस्या नभएकाले काम योजना अनुसारै अगाडि बढ्ने इञ्जिनियर देवले बताए । दुहबी बजारको ६ सय ४० मिटर क्षेत्रमा ८ दशमलव १५ मिटर मध्य भागबाट दुईतिर फैलिने गरी सडक बनाउने कुरा २०५४ सालमै राजपत्रमा प्रकाशित भएकाले त्यहाँ भने ठूलो सडक नबन्ने देवले बताए ।

सार्वजनिक सडक ऐन २०३१ ले सडकको मध्य भागदेखि दायाँबायाँ ३१ मिटर सडकको क्षेत्र तोकेको र राजपत्रमा प्रकाशित गरेकाले इटहरीदेखि तरहरा २५÷२५ मिटर मध्य भागबाट सडक बिस्तारमा कुनै समस्या नहुने देवले बताए ।

6 lane sadak  (2)