बिर्तामोडः प्रशोधन नगरिएको अदुवा निर्यातमा भारतले रोक लगाएसँगै पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा अदुवा प्रशोधन केन्द्र स्थापना हुन थालेका छन् । प्रशोधन नगरिएको अदुवाको क्वारेन्टाइन पास नहुने हुनाले प्रशोधन केन्द्र स्थापना भएा हुन् ।

पहिले नेपालबाट माटो र कीरासहितको अदुवा भारतको दिल्ली पुग्ने गरेका कारण भारतले प्रशोधनलाई कडाइ गरेको प्लान्ट क्वारेन्टाइन काँकरभिट्टाका प्राविधिक सहायक विनयकुमार साहले बताए । नेपालमा अदुवा उत्पादन धेरै भए पनि प्रशोधन केन्द्र कम रहेको साह बताउँछन् ।

झापाको मेचीनगर नगरपालिकामा रहेको बरबोटे अदुवा तथा कृषि प्रशोधन केन्द्रमा दैनिक १० टन बढी अदुवा प्रशोधन हुन्छ । प्रशोधनका लागि भारतको नक्सलका २० जना कामदार रहेका छन् । १ टन अदुवा प्रशोधन गर्न ३० मिनेट समय लाग्ने कामदार शाखीर खानले बताए ।

अदुवा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्य राखेर प्रशोधन केन्द्र स्थापना गरिएको व्यवसायी पदम पौडेलले बताए । केन्द्रमा पौडेलसँगै व्यवसायी चन्दन विश्वास र मनोरथ अधिकारीको लगानी रहेको छ ।

‘अहिले प्रशोधन नगरिएको अदुवाको क्वारेन्टाइन पास नै हुँदैन’, पौडेलले भने, ‘प्रशोधन नगरी अदुवा निर्यात गरे, भारतमा अदुवा फ्याँक्नसमेत पैसा तिर्नुपर्छ ।’

पूर्वी नेपालकै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा उत्पादन गरिएको अदुवा यस उद्योगमा प्रशोधन हुँदै आएको छ । डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको प्रशोधन केन्द्रमा दैनिक ६० टन बढी अदुवा प्रशोधन क्षमता रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधनसँगै ग्रेडिङ गरेको अदुवा मात्र निर्यात हुने गरेको पौडेल बताउँछन् । झापाको मेचीनगर नगरपालिकामा अहिले दुई ओटा अदुवा प्रशोधन केन्द्र सञ्चालनमा भए पनि अदुवाको ग्रेडिङ हुन सकेकोे छैन ।

अन्तर्राष्ट्रिय बजारमा निकासी हुने अदुवाको उचित मूल्यका लागि प्रशोधन र ग्रेडिङ अनिवार्य भएपनि ग्रेडिङका लागि कामदार नपाइने व्यवसायी सुष्मा पौडेल बताउँछिन् ।

‘उद्योग स्थापना गरेर मात्र नहुने रहेछ’, पौडेलले भनिन्, ‘प्रशोधनका लागि भारतको नक्सलबाट पुरुष कामदार ल्याउँदै आएका छौँ । भारतमा ग्रेडिङका लागि महिलालाई मात्र तालीम दिइएको छ, उनीहरू नेपाल आउन चाहँदैनन् ।’

प्रशोधन र ग्रेडिङ गर्ने काम नेपाली कामदारले गर्न नै नचाहेको पौडेलको भनाइ छ । भारतीय कमदार तालीमप्राप्त हुने गरेकाले व्यवसायीलाई पनि सहज हुने उनी बताउँछिन् । कामदारलाई प्रशोधनका लागि प्रतिबोरा ३५ रुपैयाँ दिने गरेको पौडेलले बताइन् ।

अदुवाको उचित मूल्य नपाएको दुखेसो नेपाली किसानले गर्दै आएका थिए । तर, गत वर्षको तुलनामा यस वर्ष अदुवाको मूल्य ३ सय प्रतिशत वृद्धि भएको छ । गत वर्ष यही समयमा प्रतिमन १ हजार ४ सयमा बिक्री भएको अदुवा अहिले ४ हजार ८ सय रुपैयाँमा बिक्री हुँदै आएको इलामको देउमाइ नगरपालिकाका व्यवसायी मातृका घिमिरेले बताए ।

‘केही दिनअघि प्रतिमन ६ हजार रुपैयाँसम्म अदुवाको कारोबार भयो’, घिमिरेले भने, ‘विगतका वर्षमा उचित मूल्य नपाएकाले यस वर्ष २५ प्रतिशत किसानले मात्र अदुवा खेती गरे । त्यसैले उत्पादन र मागको अनुपातको अन्तरले मूल्य वृद्धि भएको हो ।’

बीउको सिजनमा अदुवाको भाउ बढेकाले किसानले अदुवाको बीउ नै बिक्री गरेकाले पनि यस वर्ष उत्पादन कम भएको घिमिरे बताउँछन् ।