तस्बिरः अमृता राई
धनकुटाः निरन्तरको वर्षाका कारण कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेको छ ।
गर्जुवा, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको हो । गर्जुवा खोलामा आएको बाढीले बिहीबार रातिदेखि अवरुद्ध कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्ड झण्डै ८ घण्टापछि खुलेको छ । लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि बिहीबार राति १२ वजेदेखि कोशी राजमार्गमा सवारी आवतजावत बन्द भएको थियो ।
सडकमा थुप्रिएको लेदो डिभिजन सडक कार्यालयको स्काभेटरले पन्छाएपछि बिहानैबाट एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ । विद्युतको निर्माणाधीन हाइटेन्सन लाइन बनाउन खनिएको नयाँ बाटोको माटो भत्किएर गर्जुवा खोलामा झर्दा सोही माटो बगाएर सडक अवरुद्ध पारेको सुपरभाइजर अम्बिका राईले बताइन् ।
यसभन्दा पहिले पनि बर्खाको बेला गर्जुवा खोलामा आउने बाढीले राजमार्ग अवरुद्ध हुने गर्दथ्यो । सडक डिभिजन कार्यालयले बर्खा लाग्नुभन्दा अगाडि नै बाढी रोकथामको लागि विभिन्न संरचना निर्माण गरेर सतर्कता अपनाइएको थियो ।