विराटनगर/ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।

भारतसँगको व्यापक खुला सिमाना र चीनसँग पनि सिमाना जोडिएको प्रदेश १ को अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्नु प्रदेश सरकारको प्राथामिकतामा रहेको मन्त्री कार्कीले बताए ।

‘सीमा सुरक्षा गर्ने त सङ्घीय सरकारको काम हो तर सीमा सुरक्षा प्रदेश सरकारको चासो र चिन्ताको विषय हो’, मन्त्री कार्कीलाई उद्धृत गर्दै उनका निकटतम सहयोगी रवि खनालले प्रदेश पोर्टललाई भने, ‘खुला सीमा प्रदेशको शान्ति सुरक्षाको मुख्य चुनौति हो । तसर्थ सीमा सुरक्षाप्रति चिन्तित र प्रतिबद्ध छु ।’ यसै आर्थिक वर्ष २०७५÷७६ को नीति, कार्यक्रम तथा बजेटमार्फत् केही सुधारका कार्यक्रम चाल्ने मन्त्री कार्कीले बताए ।

भारततर्फ साढे २ किलोमिटरको अन्तरमा एसएसबी रहेको तर नेपालतर्फ १५ किलोमिटर हाराहारीमा मात्रै सशस्त्र प्रहरीको सुरक्षा भएकाले सीमा सुरक्षा मजबुत हुनुपर्ने मन्त्री कार्कीले बताए ।

१५ किलोमिटरको अन्तरमा रहेको बिओपीलाई ७ किलोमिटरमा ५ वर्षभित्र झार्ने र अन्तर्राष्ट्रिय स्तरको चुस्त सीमा बनाउन आफू लागिपर्ने मन्त्री कार्कीले बताए । प्रदेश १ मा रहेका साबिकका १६ वटा बिओपीलाई ३७ वटा पु¥याउने लक्ष्य प्रदेश सरकारले ल्याएको उनले बताए ।

नेपालको व्यवस्थित बिओपी र सीमा सुरक्षाले नेपाल र भारतका साथै चीनको सीमा सुरक्षामा फाइदा हुने भएकाले त्यसतर्फ प्रदेश सरकार लाग्ने मन्त्री कार्कीले बताए ।