काँकरभिट्टाः अधिकारसम्पन्न स्थानीय तह गठन भएको ३ वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन् । हल्दीबारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन गर्नुपरेको छ । साँघुरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा ज्यादै समस्या भएको स्थानीय सरकार प्रमुखहरू बताउँछन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आवासीय घरका कोठाबाट काम चलाउनुपरेको हो ।

कार्यालय सञ्चालनका लागि हुनुपर्ने पूर्वाधार नभएका, तथा यसका लागि उपयुक्त भवन अभावका कारण सेवाप्रवाहमा समेत समस्या भएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम बताउँछन् । अझ विषयगत शाखाहरू अलगअलग भवनबाट सञ्चालन गर्नुपर्दा त झन् बढी समस्या हुने गरेको अध्यक्ष आलमको भनाइ छ ।

‘शुरुमा सिहंदरबारको अधिकार अब गाउँगाउँमा भनियो’, अध्यक्ष आलमले भने, ‘स्थानीय तहको संरचनाअनुसार स्वास्थ्य, शिक्षा, कृषि सहकारीलगायतका विषयका शाखाहरू गाउँपालिकामा आए तर, पर्याप्त स्रोत साधन अभावका कारण तथा सबै सेवा एउटै भवनबाट दिन नसक्दा सेवाग्राहीलाई समेत समस्या परेको छ ।’

सबै शाखाहरू एउटै भवनका कोठाबाट व्यवस्थित गर्न नसक्दा सेवाग्राहीलाई समस्या परेको हो । गाउँपालिकाको बोर्ड बैठक बस्दा अध्यक्ष आलमको कोठामा कुर्सी थप्नुपर्छ । अहिलेसम्म हरेक बैठक अध्यक्षकै कोठामा हुने गरेको छ । बैठक बस्ने बेलामा वडा सदस्य, गाउँपालिका सदस्यहरू, अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सबै मिलीजुली बस्ने र बैठक सम्पन्न गर्ने गरेका छन् ।

साबिकको बनियानी, पथरिया, बालुवाडी, केचना, पाठामारी र घेराबारी मिलेर बनेको कचनकवल गाउँपालिका शुरुदेखि नै भाडाकोे घरमा बस्दैं आएको छ । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि तीन ठाउँमा भवन भाडामा लिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर थापामगरका अनुसार साँघुरा कोठा भएको भवन भए पनि मासिक झण्डै ७० हजार रुपैयाँ गाउँपालिकाले घरको भाडाबापत घरधनीलाई बुझाउनुपर्छ ।

‘भाडामा लिएका घरका कोठामा जनप्रतिनिधि र कर्मचारी नै अटाउन हम्मेहम्मे पर्छ,’ अध्यक्ष आलमले भने, ‘त्यसैमा सेवाग्राही थपिँदा त झन् समस्या ।’ तर यस्तो कष्ट झेल्दै भए पनि गाउँपालिकाले सेवाग्राहीलाई दिने सुविधामा कुनै कमी आउन नदिएको अध्यक्ष आलमको दाबी छ ।

गाउँपालिकाको भवन निर्माणका लागि ७ नम्बर वडामा स्थानीय एक व्यक्तिले १५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराए पनि हालसम्म भवन बन्न सकेको छैन् । अब यसै आर्थिक वर्षभित्र गाउँपालिकाको सुविधा सम्पन्न भवन बन्ने योजना छ ।

‘यसै आर्थिक वर्षभित्र कार्यालय बनाउनका लागि टेण्डर प्रक्रिया अघि बढाइने छ’, अध्यक्ष आलमले भने, ‘यसका लागि गाउँपालिकाले २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’

भवन बनाउनका लागि १ नम्बर प्रदेशसँग समेत रकम माग गरिएको उनको भनाइ छ । सो गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय पनि भाडाको घरबाट सञ्चालित छ । कुल ७ वडा रहेको कचनकवल गाउँपालिकाको १, २, ४, ५, ६ र ७ का वडा कार्यालयहरू साबिकका गाविस भवनबाट सञ्चालित छन् ।

गाउँपालिकाले भाडामा सञ्चालनमा रहेको वडा नम्बर ३ को वडा कार्यालय समेत बनाउने तयारी गरेको छ ।

हल्दीबारीको हालत पनि उस्तै
साबिकका हल्दीबारी, गोलधाप र जलथल मिलेर बनेको हल्दीबारी गाउँपालिकाको अवस्था पनि कचनकवलको भन्दा कम छैन । गाउँपालिका अध्यक्ष रविन्द्रकुमार लिङ्देन पारिवारिक प्रयोजनका लागि बनाएका घरका कोठा भाडामा लिएर साँघुरा कोठाबाट जसोतसो सेवाप्रवाह गर्नुपरेको बताउँछन् ।

यस्तो अवस्थामा सेवा प्रवाह गर्न असहज भएको तथा सेवाग्राहीले पनि सहज रूपमा सेवा लिन नपाएको उनले बताए । उनी भन्छन्, ‘सुविधासम्पन्न भवन बनाउने तयारीमा छाँै, निर्माण हुँदैछ तर यो बर्खाले पो रोक्यो ।’

घरायसी प्रयोजनका लागि बनेका घरमा कार्यालय चलाउन ज्यादै समस्या हुने उनले सुनाए । स्थानीयहरूले कार्यालय भवनका लागि डेढ कठ्ठा जग्गा उपलब्ध गराएकाले १ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी धमाधम भवन निर्माण भइरहेको भए पनि अहिले बर्खाका कारण निर्माणकार्य रोकिएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

गाउँपालिकाले भवन निर्माणका लागि ५ नम्बर वडामा रहेको धनुषपोखरीमा ५ करोड रुपैयाँमा टेन्डर प्रक्रिया शुरु गरेको भए पनि ३ करोड ९० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढी काम शुरु भएको छ ।

५ वटा वडा रहेको हल्दीबारीको १, २ र ४ आफ्नै भवनबाट सञ्चालन भइरहेका छन् भने ३ र ५ भाडाका घरबाट सञ्चालित छन् । अहिले हरेक वडाले राजस्व सङ्कलन गर्नेदेखि योजना सञ्चालनसम्मको काम गर्ने गरेका छन् । तर त्यही अनुसारको सेवाप्रवाह गर्न सक्ने पूर्वाधार भएका भवन नहुँदा काम गर्न समस्या भएको छ ।

‘शुरुमा गाउँपालिकालाई व्यवस्थापन गर्न ज्यादै समस्या थियो’, अध्यक्ष लिङ्देनले भने, ‘जग्गाको व्यवस्थापन थिएन अहिले भयो, स्थानको टुङ्गो लाग्यो र भवन निर्माणको काम शुरु भयो ।’

जिल्ला समन्वय समिति झापाले हल्दीबारीको वडा नम्बर ३ को कार्यालय बनाउनका लागि ४० लाख रुपैयाँ दिएको छ । तर पहिले गाउँपालिकाको भवन बनाएर मात्र वडा कार्यालयको भवन बनाउने गाउँपालिकाको योजना छ ।

haldibari gaupalika