विराटचोकः स्थानीय तहको चुनाव भएको २ वर्ष भएको छ । निर्वाचित भएको वर्ष दिनसम्म स्थानीय तहका जनप्रतिनिधिले उत्साहका साथ काम गरे पनि एक वर्षपछि भने मेयर र उपमेयरबीच नै विवाद देखिन थालेका छन् ।
मोरङका केही स्थानीय तहमा पछिल्लो समय जनप्रतिनिधिबीच नै जुहारी चल्न थालेको छ । मोरङका लेटाङ, सुन्दरहरैंचा तथा उर्लाबारी नगरपालिकामा पछिल्लो समय मेयर र उपमेयरबीच नै जुहारी चलिरहेको छ । फरक फरक पार्टीबाट चुनाव जितेर छानिएका प्रतिनिधिबीच उच्च विवाद देखिएको छ ।
सुन्दरहरैंचामा नेपाली काङ्ग्रेसबाट मेयर पदमा शिव ढकाल र उप मेयरमा तत्कालीन एमालेकी धना तामाङले चुनाव जिते । निर्वाचित भएपछि मेयर तथा उपमेयर नै पटकपटक विवादमा तानिएका छन् ।
केही दिन अघि सकिएको नगरसभामा नेकपाका जनप्रतिनिधिले विभिन्न माग राख्दै नगरसभा नै बहिष्कार गरेर हिँडेका थिए । उनीहरूले नगरसभा पुन बोलाउन माग राख्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल तथा उपमेयर धना तामाङलाई नै ज्ञापनपत्र समेत बुझाएका थिए । उपमेयर तामाङले नगरसभा बहिष्कार नगरे पनि उनकै योजनामा नगरसभा सदस्यले बहिष्कार गरेको मेयर पक्षधरहरूको बुझाइ छ ।
यस्तै, लेटाङ नगरपालिकाका मेयर शङ्कर राई र उपमेयर कृष्णकुमारी निरौलाबीच पनि नगरसभाकै विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नेकपा निकटका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । उपमेयर निरौलाले नगरसभा बहिष्कार गरेर पत्रकार सम्मेलनको आयोजना नै गरेकी थिइन् । उनले पत्रकार सम्मेलनमा उपमेयरका अधिकार मेयरले कटौती गरेको आरोप लगाइन् । मेयरले एकलौटी बजेट ल्याएको समेत उनले आरोप लगाइन् । भित्र नगरसभा चलिरहँदा बाहिर उनले पत्रकार सम्मेलन गरेकी थिइन् ।
यस्तै, उर्लावारी नगरपालिकामा मेयर तथा उपमेयरले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर विरोध जनाइरहेका छन् । मेयर खड्ग फागो र उपमेयर लक्ष्मी भण्डारीबीचको विवाद पनि पछिल्लो समय उच्च हुँदै जान थालेको छ । नगरसभाकै विषयलाई लिएर मेयर र उपमेयरको विवाद बढेको हो । पछिल्लो कार्यपालिका बैठक र नगरसभाका विषयमा मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीबीच जुहारी नै चलेको छ ।
उपमेयर भण्डारीले साउन ६ गते पत्रकार सम्मेलन गरेकी थिइन् भने मेयरले ७ गते पत्रकार सम्मेलन गरेका थिए । आफ्नै कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उपमेयर भण्डारीले मेयर फागोले एकलौटी ढङ्गले निर्णय गरेको र महालेखा परीक्षक कार्यालयका प्रतिवेदन उर्लाबारीका जनतासमक्ष सार्वजनिक गर्न माग गरेकी थिइन् ।
उता, मेयर फागोले पत्रकार भेटघाटको आयोजना गर्दै आफूमाथि उपमेयरले लगाएका सबै आरोप कपोलकल्पित भएको बताएका थिए । मेयर र उपमेयरबीचको विवादकै कारण उर्लाबारीमा कार्यापालिका बैठक समेत समयमै बस्न सकेको छैन ।
१७ स्थानीय तह रहेका मोरङका बेलबारी, पथरी, रतुवामाई, सुनवर्षी रङ्गेली नगरपालिका तथा विराटनगर महानगरपालिकामा भने विवाद देखिएको छैन । यस्तै फरकफरक पार्टीबाट जितेर गए पनि केराबारीका अध्यक्ष र उपाध्यक्षबीच पनि विवाद देखिएको छैन ।