धनकुटा: धनकुटामा २० देखि ३० वर्ष उमेर समूहका विवाहितहरू सम्बन्धविच्छेद गर्न सबैभन्दा अगाडि रहेको पाइएको छ ।
जिल्ला अदलत धनकुटाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४÷७५को तथ्याङ्कअनुसार झण्डै ५० प्रतिशत सम्बन्ध विच्छेद २० देखि ३० वर्षबीचको उमेर समूहका व्यक्तिले गर्ने गरेको पाइएको हो ।
१ वर्षमा अदालतले गरेको १ सय ७० सम्बन्ध विच्छेदमध्ये ८२ दम्पत्ति यो उमेर समूहका रहेका छन् । त्यस्तै, ३० देखि ४० वर्ष उमेर समूहका ६६, ४० दखि ५० वर्ष उमेर समूहका १६ र २० भन्दा मुनिको उमेर समूहका ८ दम्पत्तिले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत धनकुटाका न्यायाधीश विनोदकुमार पोख्रेलले जनाए ।
फौजदारी र देवानी गरी अदालतमा गत वर्ष परेका ३ सय ६७ मुद्दामध्ये सबैभन्दा बढी १ सय ७० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । हतपत सम्बन्ध विच्छेदको मुद्दा नपर्ने धनकुटा अदालतमा अघिल्लो आर्थिक वर्षमा ३४ ओटा मात्रै मुद्दा परेका थिए ।
लक्ष्यभन्दा ७ प्रतिशत बढी मुद्दा फछ्र्याेट
त्यस्तै, जिल्ला अदालत धनकुटाले लक्ष्यभन्दा ७ प्रतिशतबढी मुद्दा फर्छ्योट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ५६ सहित ४ सय २३ मुद्दामध्ये ३ सय २५ मुद्दा फर्छ्योट गरेको जनाइएको छ ।
गत आर्थिक वर्ष जिल्ला अदालतमा अधिकृत वारेसनामा १२ थान, विवाहदर्ता ६, संरक्षक नियुक्ति १, धर्मपुत्र अनुमति १ र अन्य १ गरी २१ थान विशेष प्रकृतिका निवेदन परेका छन् । कैद तर्फको ६ सय ४ वर्ष ५ महिना र २५ दिन र जरिवानातर्फ ६१ लाख २४ हजार एक सय ८० रुपैयाँ भुक्तान हुन बाँकी रहेको न्यायाधीश पोख्रेलले बताए ।
अदालतमा आएका सम्बन्ध विच्छेद मुद्दामा ५० प्रतिशत सन्तानविहीन छन् । ३० प्रतिशत छोरी भएका र बाँकी छोरा भएका दम्पत्ति रहेका छन् । सम्बन्ध विच्छेद गर्नेमा वैदेशिक रोजगारबाट फर्किएका, अन्तरजातीय विवाह गरेका र प्रेमविवाह गरेकाहरूको सङ्ख्या धेरै रहेको अदालतले जनाएको छ ।
गत वर्षदेखि आएको नयाँमुलुकी ऐन कार्यान्वयन सँगै जिल्ला अदालत धनकुटामा पुरुष वादी भएका सम्बन्ध विच्छेदका मुद्दा पनि उल्लेख्य परेका छन् । अदालतका अनुसार पुरुष वादी भएका २७ मुद्दामध्ये ५ ओटा र महिलावादी भएका १ सय ४३ मध्ये ११ ओटा फर्छ्योट हुन बाँकी रहेका छन् ।