इटहरीः लामो समयसम्म मैथिली नाट्य रङ्गकर्ममा भिजेका रङ्गकर्मीमध्ये पछिल्लो समय नेपाली चलचित्रमार्फत् दर्शकमाझ अधिक रुचाइएका कलाकारको पङ्तिको अग्रभागमा आउने कलाकारको नाम हो, रवीन्द्र झा ।
प्रदेश नम्बर २ को राजधानी जनकपुरका स्थायी बासिन्दा झा विगत ३ वर्षदेखि काठमाडौंमा रहेर नेपाली चलचित्रको श्रीवृद्धिका लागि अभिनयकलाको माध्यमबाट लागि परिरहेका छन् । तराइ क्षेत्रका विभिन्न जाति समुदायका पात्रहरूमार्फत् उनले आफ्नो अभिनय कलालाई यतिबेला विभिन्न नेपाली चलचित्रको माध्यमबाट पोखिरहेका छन् ।
यतिबेला नेपाली कथानक चलचित्र ‘पासवर्ड’को छायाङ्कनका लागि लण्डनमा रहेका कलाकार झाले हालसम्म अभिनय गरेका ‘कोहलपुर एक्सप्रेस’बाहेक अन्य नेपाली कथानक चलचित्रले नोक्सानको व्यापार गरेनन् । लण्डनबाट फेसबुकको भिडियो कलमा कलाकार झाले भने, ‘म जनकपुर बसेर रङ्गकर्म गर्दा र इटहरी बसेर रेडियो नाटकमा काम गर्दा अभिनयका लागि लण्डनसम्म पुग्छु होला भन्ने सोचेकोसम्म थिइनँ । तर, आज नाट्यश्वरीका कारण म लण्डनमा छु । यसको सम्पूर्ण श्रेय रङ्गकर्मलाई जान्छ ।’

rabin jha (3)
विपिन कार्कीलगायतको टोलीले निर्माण गरेको फरक स्वाद र प्रस्तुति रहेको चलचित्र ‘जात्रा’ बाट दर्शकमाझ अधिक रुचाइएका कलाकार झा यसअघि चलचित्र छायाङ्कनकै लागि अष्ट्रेलिया गइसकेका छन् । ‘सुनकेशरी’ नामको चलचित्र छायाङ्कनका लागि उनी सो देश पुगेका थिए । नेपालमा चलेका र सुपरस्टार ठानिने नायक नायिका छायाङ्कनकै लागि त्यति साह्रो देशबाहिर जाँदैनन् नि तपाईं चाहिँ किन जानुभयो भन्ने प्रश्नमा झा भन्छन्, ‘मैले अभिनय गरेको ‘सुनकेशरी’ र ‘पासवर्ड’को कथाले नै बाहिर देश मागेकाले पहिले अष्टे«लिया र अहिले लण्डन पुगेको हुँ । रहर र सोखले होइन ।’
छोटो समयमा निकै व्यस्त र चलेका कलाकारका रूपमा आफूलाई नेपाली चलचित्र क्षेत्रमा चिनाइरहेका झाले भने, ‘काठमाडौंबाट लण्डन आउनुअघि लण्डनको बारेमा जे सोचेको थिएँ त्योभन्दा धेरै फरक पाएँ ।’
उनका अनुसार चलचित्र ‘पासवर्ड’मा एक नेपाली अपराधी युवाको खोजीमा रहेको प्रहरीको भूमिकामा उनले लण्डनमा रहेर १ महिनासम्म अभिनय गर्नेछन् ।
नेपालकै सम्भवत पहिलो नाट्य संस्थाका रूपमा मानिएको मिथिला नाट्य कला परिषद्मा आबद्ध उनले ‘सङोर’ नामको मैथिली भाषाको रेडियो नाटकमा काम गरे । नेपालकै बढी शृङ्खला भएको रेडियो नाटकमा लेखक÷खलपात्र हुँदै कार्यक्रम उत्पादकको जिम्मेवारी लिएका उनी पछिल्लो समयमा पनि रेडियो नाटककर्ममै छन् । चलचित्र अभिनयसँगै उनी यसबेला एन्टेना फाउन्डेसनद्वारा उत्पादित मैथिली भाषाकै रेडियो नाटक हिलकोरमा कार्यक्रम संयोजकका रूपमा कार्यरत छन् । तालिका मिलाएर रेडियो नाटक र चलचित्र अभिनयमा उनले समय खर्चिरहेका छन् ।
निकै छानेर मात्र चलचित्रमा अभिनय गर्ने झाले कथावस्तु र निर्देशक भने विचार गर्ने गरेका छन् । एउटा चलचित्रमा गरेको अभिनयबापत कम्तीमा ५ लाख पारिश्रमिक लिने झाले भूमिकाअनुसार रेट तलमाथि हुने बताए ।
‘जात्रा’ चलचित्रमा कपाल काट्ने हजाम (ठाकुर)को भूमिकाबाट अभिनय यात्रा थालेका झा भन्छन्, ‘जात्राको अभिनयपछि मेरो चलचित्र क्षेत्रमा अभिनयको यात्रा सयको स्पीडमा निरन्तर चलिरहेको छ । राम्रो कथावस्तु भए पनि मैले २ वर्षको अवधिमा धेरै चलचित्रहरू छाड्नुपर्यो ।’ झाले अभिनय गरेको ‘दुई रुपियाँ’मा एम्बुलेन्स चालक मण्डल नामको पात्र दर्शकले खुब रुचाए । यसपछि उनले अभिनय गरेका चलचित्र ‘फाटेको जुत्ता’, ‘सुनकेशरी’, ‘कोहलपुर एक्सप्रेस’, ‘शेरबहादुर’ र ‘मिष्टर भर्जिन’ प्रदर्शन भइसकेका छ्न् ।

rabin jha (2)
उनले अभिनय गरेका ‘रामकहानी’, ‘चङ्गाचेट’ र ‘चौका दाउ’ प्रदर्शन हुनका लागि पालोमा छन् । लण्डनबाट काठमाडौं फर्कनसाथ ‘शुभलाभ’, ‘प्रेमालय’, ‘जात्रैजात्रा’ लगायतका चलचित्रमा अभिनय गर्दैछन् । दुई वर्षको अन्तरालमा नेपाली चलचित्रमा र रेडियो नाटकमा व्यस्त भएकाले रङ्गकर्मलाई बिर्सिएको आरोप खेप्ने गरेका झा भन्छन्, ‘मेरो मन मुटु र मष्तिष्क रङ्गकर्ममै छ । दर्शकहरूकै मागका कारण म केही समय नाट्य अभिनयलाई थाँती राखेर चलचित्र अभिनयमा लागेको हो । अब चाँडै नै समय मिलाएर राम्रो कथामा स्टेज नाटकमा अभिनय गर्ने योजनामा छु ।’