प्रकाशपुरः वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को बजेट तर्जुमा भएर सार्वजनिक पनि भइसक्यो । तर बजेट सार्वजनिक गरेको महिनौँ बितिसक्दा पनि कार्यक्रम र आधिकारिक बजेटको बारेमा आफ्नो मातहतका निकायलाई अख्तियारी नदिँदा सम्पूर्ण आर्थिक काम नै ठप्प भएको छ ।

ऐनले तोकेको समयभन्दा झन्डै २ सातापछि मात्रै वराहक्षेत्र नगरपालिकाले दोस्रो नगरसभाबाट पारित गरेका योजना तथा कार्यक्रमको सिलिङ अझै पनि आफ्ना वडाहरूसम्म पुर्याउन सकेको छैन । नगरसभामा पास भएको योजना नगरका विभाग र वडासम्म पुग्न नसक्दा योजना कार्यान्वयन गर्न गम्भीर समस्या पर्ने गरेको छ ।

barahkdhetra

६८ करोडको कार्यक्रम तर्जुमा गरेको वराहक्षेत्रले आर्थिक वर्ष शुरु भएको झन्डै २ महिनासम्ममा पनि बजेटको अख्तियारी मातहतका निकायलाई उपलब्ध गराएको छैन । असार २४ गते र २५ गते भएको दोस्रो नगरसभाबाट ६८ करोड ४९ लाख २७ हजार रुपैयाँ बजेट हालसम्म कार्यान्वन भएको छैन । वडाको योजना थाहा छ तर नगरको छैन वडाको योजनामा केके परे भन्ने थाहा भए पनि समग्र नगरपालिकामा केके योजना परे भन्ने थाहा नभएको जनप्रतिनिधि नै बताउँछन् । ‘जनताले केके कार्यक्रम प¥यो भनेर सोध्न आउँछन् । ङिच्च हाँसेर अझैसम्म थाहा छैन भनेर जवाफ दिनु पर्या छ’, वराहक्षेत्र–९ का वडाध्यक्ष दीपक लिम्बू भन्छन्, ‘योजना स्वीकृत गर्न वडामा फाइल आउँछन् । कुन शीर्षकमा कति बजेट परेको छ जानकारी नै नभएपछि सबै फाइल थन्किएका छन् ।’

नगरसभाबाट बजेट सार्वजनिक भएपछि तत्कालै वा भोलिपल्ट पालिकाहरूले राजपत्र वा वेबसाइटमार्फत बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर बजेटसभा सकिएको झन्डै दुई महिना बितिसक्दा बजेट तथा कार्यक्रम सार्वजनिक हुन सकेको छैन ।

तर, यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल भने बजेट तयार भएको र केही दिनमै सार्वजनिक गर्ने बताउँछन् । समयमा नै काम नहुनुले अन्तिममा असारे विकासलाई प्रोत्साहन गरेको देखिन्छ । स्थानीय युवा बासु बराल भन्छन्, ‘यो समयमा सबै काजगी काम सकेर बस्दा बर्खा सकिनेबित्तिकै काम शुरु भएर समयमै काम सकिन्थ्यो । तर हालसम्म पनि बजेट केकेमा विनियोजन भयो भनेर थाहा नपाउनुले जनप्रतिनिधि हुनु र नहुनुमा तात्विक भिन्नता देखिएन ।’ सरकारले समयमै योजना बनाएर समयमै कार्यक्रम सम्पन्न गराउने उद्देश्यले असार १० भित्रै नगरपालिकामा बजेट पेश गरेर साउन १ देखि कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।

स्थानीय विकास मन्त्रालयले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा मार्गदर्शन, २०७४ जारी गर्दै साउन १५ गतेभित्र सर्वसाधारणको लागि वेबसाइटमा प्रकाशन गर्नुपर्ने अनिवार्य गरे पनि हालसम्म पनि वराहक्षेत्रको बजेट सार्वजनिक नभएको हो । निर्णय भएका योजना अझैसम्म पनि प्रकाशित नगर्नेजस्ता प्रवृत्तिले नगरपालिका स्वेच्छाचारी बन्न खोजेको नेपाली काङ्ग्रेसका नेता उपेन्द्र कटुवाल बताउँछन् । ‘यत्रो दिनसम्म पनि कार्यक्रम प्रकाशित गर्न नसक्नु नगरपालिकाको लाचारपन हो,’ कटुवाल भन्छन्, ‘नीति नियम कार्यक्रम बनाएर जनतालाई पनि सूचना नदिनुले संवैधानिक मौलिक हकको हनन भएको छ ।’ बजेटका बारेमा कर्मचारीले नै थाहा नपाएपछि कसरी काम गर्ने भन्ने विषय अन्योल भएको छ ।

नगरपालिकाका एक विभागीय प्रमुखले नाम नखुलाउने शर्तमा भने, ‘कुन शीर्षकमा कति बजेट छ भन्ने विषयमा किताब हेरेर मात्रै थाहा हुन्छ । न पुस्तिका छापिएको छ न त वेबसाइटमै हालेको छ, कसरी काम गर्ने भन्ने अन्योलमा परेका छौँ ।’ यस्तो छ कानुनी व्यवस्था सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा मार्गदर्शन, २०७४ ले योजना तर्जुमा र बजेट कार्यान्वयन गर्ने विषयलाई स्पष्ट पारेको छ ।

निर्देशिकाको बुँदा ५ को ७.२ को घ मा असार मसान्त सम्म बजेट पास गरी सर्वसाधारणको जानकारीका लागि साउन १५ गतेसम्म वेब साइटमा अनिवार्य प्रकाशन गर्नुपर्छ । यस्तै, निर्देशिकाले बजेट कार्यान्वयनको विषय पनि स्पष्ट पारेको छ । नगर सभाले पास गरेको बढीमा २३ दिनभित्रमा सबै शाखा तथा वडामा बजेट अख्तियारी पठाउनुपर्ने प्रावधान भए पनि हालसम्म पनि नगरपालिकाले बजेट सिलिङ दिन सकेको छैन । निर्देशिकाको बुँदा नम्बर ६ मा विभिन्न ५ वटा चरणमा योजना कार्यान्वयन गर्नुपर्ने बताइएको छ ।