तेह्रथुमः तेह्रथुमको आठराईमा निर्माणाधीन सबस्टेसनको काम १ वर्षदेखि अलपत्र परेको छ । नेपाल विद्युत प्राधिकरणको ३३ केभीए प्रशारणलाइनको काम छोडेर ठेकेदार बीचैमा हिँडेपछि सबस्टेसनको काम अलपत्र परेको हो ।

३ वर्ष अघिदेखि निर्माण थालिएको सबस्टेसनको काम गत वर्षको साउन महिनादेखि स्थगित भएको छ । आठराई संक्रान्तिबजार नजिकै रहेको सबस्टेसन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ए टु जेड इन्सा इञ्जिनियरिङले नेपालमा रहेको मल्ल कन्ट्रक्सनलाई पेटी ठेक्कामा काम दिएको बताइएको छ । सबस्टेसनको लागि घेराबार र एउटा भवनको पिल्लरमात्र तयार भएको छ ।

पेटी ठेक्कामा काम थालेको मल्ल कन्ट्रक्सनले बीचैमा काम छोडेपछि सबस्टेसन समयमा निर्माण नहुने देखिन्छ । आठराईमा ११ केभीए विद्युत लाइन बिस्तार भए पनि सबै घरमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन ।

१ वर्षदेखि सबस्टेसनको काम अलपत्र अवस्थामा रहे पनि अहिलेसम्म कसैले ध्यान नदिएको उद्योग वाणिज्य सङ्घ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल बताउँछन् ।

सबस्टेसन निर्माणका लागि संक्रान्तिबजारका स्थानीय केवलीप्रसाद मैनालीको परिवारले ९ रोपनी जग्गा नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको थियो । ५ वर्षभित्र काम सम्पन्न गर्ने गरी निर्माण थालिएको थियो ।

ठेकेदार हिँडेपछि संक्रान्तिबजारले उज्यालो पाउने र सर्वसाधारणको रोजगारीका सम्भावना पनि हराउने जग्गादातामध्येका कमल मैनालीले दुःखेसो गरे ।

तेह्रथुमको दुर्गम क्षेत्रमा रहेको आठराई विद्युतीय क्षेत्रमा निकै पछि रहेको छ । आठराई संक्रान्ति बजारसहित आसपासका केही गाउँमा मात्र विद्युत पुगेको छ । ३३ केभीए विद्युत प्रशारण लाइन निर्माण र बिस्तारले गति नलिनु समग्र आठराईबासीको समस्या भएकाले आफू चिन्तित रहेको स्थानीय याममणि बरालले बताए ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गतको प्रणाली सुदृढीकरण आयोजनाका अनुसार सबस्टेसन निर्माण र लाइन बिस्तारका लागि १० देखि १५ करोड रुपैयाँ लाग्ने छ ।

प्रणाली सुदृढीकरण आयोजनासँग ए टु जेड इन्सा इञ्जिनियरिङ कम्पनीको सब स्टेसन निर्माणसम्बन्धी सम्झौताको समय सकिन अब ३ महिनामात्र बाँकी छ ।