इटहरीः मङ्गलबारको सेयर बजार तलमाथि हुने क्रम जारी छ । बजार बढ्दै १२०९ सम्म पुगे पनि सवा १२ बजे १२०२ मा झरेको थियो । अहिले १ बजेको समयमा बजारले फेरि उकालो बाटो तय गरी बजार साढे ३ अङ्कले बढेको छ । नेप्से सूचक १२०९.७७ मा पुगेको छ ।
जम्मा १ सय ३४ कम्पनीको १६ करोड ६८ लाख ८६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच हुँदा कारोबारमा आएका १० समूहका सूचक मध्ये ५ समूहका सूचक घटेका छन् भने ५ समूहका बढेका छन् ।
कारोबार रकममा लक्ष्मी बैंकले अग्रता लिएको छ । एभरेष्ट बैंकसँग मर्जको हल्ला चलेपछि गत आइतबारदेखि नै यस कम्पनीको मूल्य बढ्नुका साथै उच्च कारोबार पनि भइरहेको छ । आज १ बजेसम्ममा लक्ष्मी बैंकको २ करोड २ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । लक्ष्मीलाई पछ्याइरहेको एनआइसी एशियाको पनि २ करोड २ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको १ करोड ३९ लाख रुपैयाँको कारोबार हुँदा अन्य कम्पनीको कारोबार रकमले भने करोडको अङ्क छुन सकेको छैन ।
काबेली विकास बैंकको सबैभन्दा धेरै ९.२६ प्रतिशतले सेयरमूल्य बढ्दा हिमालयन पावर पार्टनरको ५.६६ प्रतिशतले मूल्य बढेको छ । अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै ३.१९ प्रतिशतले मूल्य घट्दा गुह्येश्वरी मर्चेन्ट फाइनान्सको सेयरमूल्य २.९६ प्रतिशतले घटेको छ ।