बिर्तामोडः सरकारले भारतीय कृषि उत्पादनको विषादी परीक्षण नगरी आयात गर्न नदिने निर्णय गरेपछि हालसम्म काँकडभिट्टा नाका हुँदै भित्रिने तरकारीको आयात रोकिएको छ ।

तरकारी छोटो समयमा सड्ने भएका कारण व्यवसायीले जोखिम लिन नचाहेकाले तरकारीको आयात रोकिएको हो । अहिले काँकडभिट्टा नाकाबाट ‘पर्बल’ मात्र आयात भइरहेको संलग्न व्यवसायीले बताएका छन् ।

मेची भन्सारका एक जना एजेन्ट बालकृष्ण थापा तरकारीको सिजन नभएकाले तरकारी आयात रोकिएको बताउँछन् । विगतका वर्षमा यस सिजनमा समेत तरकारी आयात नहुने गरेको उनले बताए ।

तर, प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्राविधिक सहायक विनयकुमार साह भने व्यापारीले तरकारी आयात गर्नै नचाहेको तर्क गर्छन् । उनले विषादी परीक्षण गरेपछि मात्र तरकारी आयात गर्ने निर्णयका कारण असार तेस्रो साता लाखौँ मूल्यको तरकारी नष्ट गर्नुपरेकाले पनि तरकारी आयात गर्न व्यवसायीले आनाकानी गरेको बताए ।

गत वर्षको जेठ र असारमा काँकडभिट्टा नाकाबाट ५४ लाख ७१ हजार ५९ किलोग्राम तरकारी आयात भएको थियो । यो १० करोड, ९२ लाख ८४ हजार ७ सय ६९ मूल्य बराबरको तरकारी हो । यस वर्षको सोही अवधिमा ४७ लाख ७० हजार ३ सय ९३ किलोग्राम तरकारी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

१० करोड ८० लाख ३९ हजार ९ सय ४० रुपैयाँको तरकारी आयात भएको देखिन्छ । चालु आर्थिक वर्षको तथ्याङ्क विषादी प्रयोग गरिएको भन्दै नाकाबाट तरकारी फिर्ता गर्नुभन्दा पहिलेको हो । परीक्षणको हल्लापछि भने तरकारी आयात ठप्पप्रायः छ ।

केही दिन नाकामा तरकारी बोकेका ट्रक रोकिएपछि भारतीय दूतावासले नेपाल सरकारलाई चेतावनीयुक्त पत्र पठाएको थियो । दूतावासको पत्रपछि बसेको मन्त्री परिषद्को आकस्मिक बैठकले ६ महिनाका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो । एकै पटक ठूलो परिमाणमा नाकामा ल्याइएका तरकारी नष्ट गर्नु परेपछि व्यापारीले आयात गर्नबाट पछि हटेका हुन् ।

भारतबाट तरकारी आयात नभएपपछि कृषिथोक बजार बिर्तामोडमा तरकारीको भाउ आकासिएको छ । झापाको बिर्तामोडमा रहेको प्रदेश–१ कै ठूलो कृषिथोक बजारमा तरकारीको भाउ अत्याधिक मात्रामा बढेको उपभोक्ताको गुनासो छ । महङ्गीले तरकारी किनेर छाक टार्न पनि गाह्रो हुन थालेको उपभोक्ताको गुनासो छ । औसत आम्दानी भएका उपभोक्तालाई महङ्गीले धेरै नै सताएको उपभोक्ता बताउँछन् ।

गत वर्ष ५० रुपैयाँ प्रतिकिलो खुद्रा बिक्री हुँदै आएको सिमी यस वर्ष १ सय २० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । फर्सी– स्कुसको मुन्टा ५० रुपैयाँ मुठा, स्कुस ६० रुपैयाँ प्रतिकेजी, चटेला १ सय रुपैयाँ, करेला ८० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको व्यापारी सुमित्रा खतिवडाले बताइन् ।

गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ बढेको उनको भनाइ छ । ‘खरीद गर्दा नै महङ्गो पर्ने गर्छ,’ खतिवडाले भनिन्, ‘उपभोक्ता अझ महङ्गो मूल्य तिर्न बाध्य छन् । यस वर्ष महङ्गीले नयाँ रेकर्ड कायम गर्ने सङ्केत देखिएको व्यापारीको भनाइ छ । केही परिमाणमा भद्रपुर भन्सारबाट तरकारी आयात हुँदै आएको व्यापारी बताउँछन् ।