धनकुटाः ४ रोपनी क्षेत्रफलमा खेती गरिरहेका धनकुटा भीरगाउँका नवीन कार्कीले गाँजर बेचेरै वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्छन् । व्यावसायिक रूपमै गाँजर खेतीमा लागेका धनकुटाको भीरगाउँका किसानले मनग्गे आम्दानी गरिरहेका छन् ।

नवीनजस्तै भीरगाउँको बस्नेत टोल, चोक्रोक र किन्ताङका १ सय भन्दा बढी किसान व्यावसायिक गाँजर खेतीमा संलग्न छन् । वर्षमा ३ पटकसम्म गाँजरको उत्पादन लिन सकिन्छ । त्यस कारणले पनि किसान यो खेतीप्रति आकर्षित भएका हुन् । गाँजरलाई बजारको समेत खासै समस्या छैन । न त भीरगाउँवासीलाई गाँजर बजारसम्म लानै समस्या छ ।

सडक सुविधाका कारण बर्खा वा हिउँद जुनसुकै समयमा गाँजरको खेती गर्न सकिने कार्की बताउँछन् ।

उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन राम्रो नहुँदा समस्यामा पर्ने गरेको किसानको गुनासो छ । बजार अस्थिर भएकाले व्यापारीकै भाउमा बिक्री गर्नुपर्ने बाध्यताले उत्पादनले उचित मूल्य पाउन नसकेको स्थानीय शेरबहादुर बस्नेत बताउँछन् ।

गाँजर खेतीमा किसानको आकर्षण देखेर वडा कार्यालयले पनि पकेट क्षेत्र घोषणा गरी किसानलाई अनुदानमा उन्नत बीउ उपलब्ध गराउन थालेको वडाध्यक्ष चन्द्रलाल तामाङले बताए ।

उन्नत बीउ, प्राविधिक, सुनिश्चित बजार र उत्पादनपछिको भण्डारणका लागि पूर्वाधारको व्यवस्था गर्न सके यहाँका किसानको आयस्तरमा वृद्धि हुने किसानको भनाइ छ ।

gajar  (2) gajar  (1) gajar  (3) gajar  (5)