भोजपुरः रुद्राक्षलाई कृत्रिम तथा अप्राकृतिक तरिकाले आफूले चाहे अनुसारको स्वरूप दिने क्रम बढेपछि भोजपुरमा प्रहरी लगाएर प्लाष्टिकका त्यस्ता ‘क्लिप’ हटाउन थालिएको छ ।

भोजपुरको उत्तरी तथा सङ्खुवासभाको रुद्राक्ष उत्पादन हुने क्षेत्रमा पछिल्ला वर्ष चिनियाँ व्यापारीको चहलपहल बढेसँगै उनीहरूले ल्याएका प्लाष्टिकका क्लिपलाई बोटमै दानामा लगाएर स्वरूप परिवर्तन गर्ने चलन बढेको छ । किसान तथा रुद्राक्षको बोट ठेक्कामा लिएका व्यक्तिले बोटबोटै त्यस्ता क्लिपको प्रयोग गर्दै आएका थिए ।

चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डाकार र थेप्चो आकारमा आवश्यकता अनुुसार बनाउँदै आएका छन् । अप्राकृतिक रुद्राक्षले यसको गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा किसान भने अनभिज्ञ छन् ।

रुद्राक्षको कृत्रिम स्वरूपले विश्व बजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने भएकाले प्रहरी नै परिचालन गरेर क्लिप हटाउने अभियान चलाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन् ।

‘हामीले षडानन्द नगरपलिकासँग पनि यो अभियानमा सहयोग गर्न भनेका छौँ,’ उनले भने, ‘स्वरूप बिगारेर जे पायो त्यही गर्न पाइँदैन सार्वजनिक सूचना पनि गरेका छौँ अटेर गर्नेलाई कारवाही गर्छौँ ।’

जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले बोटबोटमा गएर क्लिप बरामद गर्न मातहतको टोलीलाई निर्देशन गरिएको बताए । किसानबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशन अनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ ।

षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मामा प्रहरी परिचालन गरेर रुद्राक्षको दानामा लगाइएको सबै क्लिप हटाइएको छ । केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १ सय ६ ओटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २ सय २५ ओटा त्यस्ता क्लिप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन् ।

रुद्राक्ष व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागार्इंले चीनबाट आएका व्यापारीले राम्रो रुद्राक्ष बनाउने बहानामा वार्षिक १० करोड बराबरको प्लाष्टिकको क्लिप बिक्री गरिरहेको बताए ।

‘केही एजेण्टहरूमार्फत् गाउँसम्म क्लिप पु¥याइन्छ,’ चापागाईंले भने, ‘उनीहरूले १ करोडको रुद्राक्ष किनेर लान्छन् त्यसको बदला १० करोड जतिको बिक्री गर्छन् ।’ धार्मिक, सांस्कृतिक महत्व बोकेको रुद्राक्षको अप्राकृतिक उत्पादन बढेपछि यसको बजार पनि खस्किन थालेकाले आफूहरूले यसलाई रोक्न प्रशासनमा पुग्नुपरेको उनले बताए ।

किसानका बगानसम्म चिनियाँ व्यापारी आएर बोटबोटै जथाभावी भाउ बिगार्न थालेपछि स्थानीय तहले उनीहरूलाई रुद्राक्ष किनबेचको लागि गाउँ प्रवेशमा रोकसमेत लगाएको छ ।

rudrakshama clip (1) rudrakshama clip (2)