बिर्तामोडः सीमावर्ती नाका काँकडभिट्टाबाट दैनिक रूपमा भारततर्फ सुपारी तस्करी हुने गरेको छ । भारतले सुपारी आयातमा प्रतिबन्ध गरेपछि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैध रूपमा सुपारी भारत कटाउने गरेका छन् ।

दैनिक सयौँ पोके तस्करले उक्त नाकाबाट शरीरमा सुपारी बाँधेर भारत पु¥याउने गरेका छन् । शरीरमा सुपारी बाँधेर भारत पु¥याउन महिला र बालबालिकाको प्रयोग बढी हुने गरेको छ । सुपारी तस्करीमा संलग्नले सुपारी कटाउने सजिलो माध्यमका रूपमा बालबालिकाको प्रयोग गर्न थालेका हुन् ।

नाका नजिकै रहेको गोदामबाट सुपारी भारत पु¥याउने गरेको तस्करीमा संलग्न काँकडभिट्टाकी एक बालिकाले बताइन् । कमजोेर आर्थिक अवस्थाका कारण सुपारी तस्करीमा लाग्नुपरेको उनी सुनाउँछिन् । काँकडभिट्टा नाकाको मुख्य गेटबाटै तस्करले खुलेआम सुपारी भारततर्फ लाने गरेका छन् । गेट आसपास सुरक्षामा खटिएका प्रहरी यस विषयमा अनभिज्ञता प्रकट गर्दछन् ।

नाकामा ड्युटीमा खटेका प्रहरीले तस्करलाई भारत जाने बाटो देखाउने गरेको पाइएको छ । सञ्चारकर्मीले फोटो खिच्न थालेपछि त्यहाँ खटिएका प्रहरीले शरीरभरी सुपारी बाँधेर भारत जाँदै गरेका पोके तस्करलाई फर्काउन थालेका थिए । प्रहरीसँग ‘सेटिङ’ मिलाएर तस्करी हुने गरेको संलग्न बताउँछन् ।

प्रहरीसँगको सेटिङले सीमावर्ती क्षेत्रमा सुपारी तस्करको चलखेल र उपस्थिति बढेको स्रोत बताउँछ । भन्सारका एक अधिकारीका अनुसार सुपारी निकासी रोक्नका लागि पहल गरेजस्तो देखिए पनि ठूलो परिमाणमा निकासी गर्न दिन प्रहरीले सेटिङ मिलाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी गोविन्दकुमार कार्की सुपारी तस्करी नभएको बताउँछन् ।

यसअघिका डीएसपी महेश थापा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा रहँदा मेची खोला बगरबाट कम परिमाणमा तस्करी हुने सुपारी डीएसपी कार्की आएपछि खुलेआम तस्करी हुन थालेको हो । अहिले भन्सारको मुख्य गेटबाट सुपारी तस्करी भइरहे पनि प्रहरीले देखेको नदेख्यै गर्न थालेको छ । तस्करमा संलग्नहरू खोलामा आएको बाढीका कारण गेटबाटै सुपारी कटाउने गरेको बताउँछन् ।

सुपारी तस्करमा संलग्न आफूहरू भरिया मात्र रहेको बताउँछन् । उनीहरू यस्तो प्रक्रिया कहिल्यै पनि नरोकिएको बताउँछन् । अधिकांश पोके तस्कर भारतीय छन् । उनीहरूको दैनिकी नेपालबाट शरीरमा सुपारी बाँधेर भारतको पानीट्याङ्की लाने हो । उनीहरूलाई आफूले बोकेको सुपारी कसको हो भन्ने थाहा नहुने मात्र होइन, नाका कटाएपछि ज्याला कसले दिन्छ भन्ने पनि थाहा नहुने बताउँछन् ।

matar taskar1