बेलबारीः रोहित दमाई र रोहन दमाई बाबु छोरा हुन् । दुवै बाबु छोरा अपाङ्ग रहेका छन् । बाबु रोहितको कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । उनी ३१ वर्षका भइसकेका छन् । छोरा रोहन आँखा देख्दैनन् भने उनका हातखुट्टा समेत चल्दैनन् । उनी लौराको सहाराले हिँडडुल गर्ने गरेका छन् ।

रोहन ३ वर्ष पूरा भई ४ वर्ष लागेका छन् । दुवै जनाको पालनपोषण रोहितकी श्रीमती पवित्रा दमाईले गरिरहेकी छिन् । जङ्गलबाट दाउरा खोजेर बेचेर जीवीकोपार्जन गर्ने गरेकी छिन् । घरमा भएका दुवैजना अपाङ्ग भएका कारण जुरुक्क उठेर जङ्गलमा गएर दाउरा खोजेर ल्याएर बेचेर दाल, चामल, नुन, तेल लगायतका सामग्री किनेर परिवार चलाउने गरेकी छिन् ।

बुधबार बेलबारी नगरपालिकाले दिएको अपाङ्गतासम्बन्धी कार्ड लिन ११ नम्बर वडामा भेला भएका उनीहरूले राहत पाएको महसुस गरेका छन् । छोराले रातो कार्ड पाएका छन् भने बाबुले हरियो कार्ड पाएका छन् । रातो कार्ड हुनेले मासिक ३ हजार तथा हरियो कार्ड हुनेले मासिक १ हजार ६ सय रुपैयाँ भत्ता पाउने छन् । अघिल्लो आर्थिक वर्षसम्म रातो परिचय पत्र पाउनेले २ हजार र नीलो परिचय पत्र पाउनेले नगद ६ सय पाउँदै आएकोमा चालु आर्थिक वर्षदेखि सो रकम बढेको हो । सेतो तथा पहेँलो कार्ड पाउनेले मासिक भत्ता नपाए पनि यातायात र स्वास्थ्य संस्थामा छुट तथा आरक्षण कोटाको उपयोग गर्न पाउँछन् ।

बेलबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु गरेको छ । एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयमा उनीहरूलाई उपमेयर ढाकाकुमारी पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले परिचय पत्र हस्तान्तरण गरेका थिए ।