बेलबारीः मोरङको बेलबारी–१ का १ जना व्यवसायी स्थानीयको करोडौँ रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका छन् ।

बेलबारीमा सुनचाँदी तथा हार्डवेयर व्यवसाय गर्दै आएका घनश्याम श्रेष्ठले २ सय जनाभन्दा बढीको १० करोडभन्दा बढी रुपैयाँ ठगी गरेर फरार भएका हुन् । जग्गा प्लटिङसमेत गर्ने श्रेष्ठले प्लटिङको शेयर दिने तथा उद्योगधन्दा खोल्ने बहानामा रकम उठाएको पीडितले बताएका छन् ।

‘घडेरी किन्नका लागि ८ लाख २० हजार रुपैयाँ दिएको थिएँ’, श्रेष्ठको घरसँगै घर जोडिएकी कृष्णा भण्डारीले भनिन्,‘१ वर्षपछि घडेरी नदिएपछि पैसा माग्दा चेक पाएकी थिएँ । ५ लाख ६० हजार दिएकी थिएँ । बाँकी २ लाख ६० हजार रुपैयाँको भरपाई गरेका थिए ।’ छोरा आयुत श्रेष्ठको नाममा रहेको एनएमबी बैंकको चेक दिएको उनले बताइन् ।

इनामेलको फयाक्ट्री खोेल्ने भन्दै बाँझो जग्गा देखाएर आफूसँग ८ लाख रुपैयाँ लिएको चन्द्रबहादुर गुरुङले बताए । ‘मलाई डिलर दिने भनेर अगाडि नै श्रेष्ठले पैसा मागे,’ गुरुङले भने, ‘१ वर्ष बित्न लाग्दा पनि उद्योग नखोलेपछि मैले मेरो पैसा फिर्ता मागेँ । उनले चेक दिए तर त्यो पैसा नभएको खाताको चेक रहेछ ।’

श्रेष्ठले आफूसँग ५० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म लिएको भन्दै पीडितहरू कहिले प्रहरी त कहिले जिल्ला प्रशासन कार्यालयमा धाउने गरेका छन् । कहिले जनप्रतिनिधिलाई भेट्न धाउने गरेका छन् ।

आफन्तले बंैकमा पैसा राख्दा धेरै ब्याज आउँदैन भनेपछि ११ लाख ७० हजार रुपैयाँ उनलाई दिएको उर्लाबारीका आशिष भुजेल बताउँछन् ।

‘हामीसँग सम्पर्कमा आएकामध्ये १ सय ८३ जनाको ९ करोड ८० लाखभन्दा बढी रकम श्रेष्ठले तिर्न बाँकी देखिन्छ’, घनश्याम तारादेवी आयुत पीडित सङ्घर्ष समितिका अध्यक्ष मातृकाप्रसाद पराजुलीले भने, ‘दैनिक मेरो पनि पैसा छ भनेर नाम थप्नेको सङ्ख्या बढिरहेको छ ।’ फोनसमेत गरेर मेरो नाम थपिदिनु भने पनि प्रमाण नभएका व्यक्तिको नाम नथपेको उनले बताए ।

फोन गर्ने सबैको पैसा तिर्न बाँकी रहेछ भने १५ करोड भन्दा बढी नगद तिर्न बाँकी देखिने उनको भनाइ छ । पराजुली आफूले चिनजानकै भरमा २० लाख रुपैयाँ भरपाई गरेर दिएको बताउँछन् । अहिले श्रेष्ठविरुद्ध पीडितहरूले सङ्घर्ष समिति नै गठन गरेका छन् ।

बाउन्स चेक छोराको नामको खाताबाट
छोरा आयुतको नामबाट बाउन्स चेक दिने गरेको पीडितहरू बताउँछन् । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधारण रहेका छन् । श्रेष्ठकोमा पैसा राख्दा आकर्षक ब्याज पाइने प्रलोभनमा परेर पैसा दिने पनि धेरै भेटिएका छन् ।

सुन्दरहरैचाकी तुलसा प्रसाईंले ३५ लाख र बेलबारीकी सरस्वती दाहालले ४१ लाख १६ हजार रुपैयाँ दिएको सङ्घर्ष समितिले तयार पारेको पीडितको नाममा जनाइएको छ ।

केही समय यता श्रेष्ठ सम्पर्कविहीन भएपछि सर्वसाधारणले आफूहरू ठगिएको थाहा पाएका थिए । श्रेष्ठलाई सम्पर्कमा ल्याई आफ्नो पैसा फिर्ता गर्न माग गर्दै केही व्यवसायीले उद्योग वाणिज्य सङ्घ बेलबारीमा केही महिनाअघि निवेदनसमेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाइएको भए पनि छलफलमा उपस्थित हुन उनले आनाकानी गर्ने गरेका थिए । श्रेष्ठले एनएमबीलगायतका बैंकबाट समेत करोडौँ रुपैयाँ ऋणलिएका छन् ।

पत्रकार र प्रहरीलाई जानकारी नदिन चेतावनी
ठगिएका केही व्यक्तिलाई श्रेष्ठले ह्वाट्स अप र म्यासेन्जरमा कुरा गर्दै पत्रकार तथा प्रहरीमा खबर नगर्न समेत चेतावनी दिने गरेको पीडितको गुनासो छ ।

घटनाका विषयमा उजुरी गर्न जाँदा प्रहरीले वास्ता नगरेको पीडित बताउँछन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले उजुरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ । ठगी गर्नेसँग प्रहरीको पनि मिलेमतो रहेको आशङ्का पीडितमा देखिएको उनीहरू बताउँछन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूले पीडितले जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई सजिलो हुने बताए । ‘लेनदेन घटना प्रहरीले हेर्दैन,’ उनले भने, ‘ठगी गरेको हो भने प्रहरीले अनुसन्धानको दायरामा ल्याउने छ ।’