काँकरभिट्टाः मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले १२ करोड २६ लाख १८ हजार ६ सय २८ रुपैयाँ ८० पैसा बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४÷०७५ सालमा नगरपालिकाले ५ करोड ९४ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

६ करोड ३२ लाख १५ हजार १ सय ७७ रुपैयाँ राजस्व बढी सङ्कलन गरेको मेचीनगर नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख एवम् लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को समष्टिगत आय–व्यय संक्षिप्त प्रतिवेदन अनुमोदनसहित सार्वजनीकिकरण गर्ने निर्णयसमेत गरेको उनले बताए ।

नगरपालिकाको खातामा मूल संरक्षित कोषको आयतर्फ १ अर्र्ब ३४ करोड २१ लाख ८८ हजार ५ सय २० रुपैयाँ ८९ पैसा छ । जसको आन्तरिक आम्दानी २३ करोड ८१ लाख ५१ हजार १ सय ११ रुपैयाँ ३२ पैसा छ । त्यस्तै बाह्य आम्दानीतर्फ १ अर्ब १० करोड ४० लाख ३७ हजार ४ सय ९ रुपैयाँ ५७ पैसा रहेको लेखा अधिकृत कार्कीले बताए ।

नगरपालिकाको खाताको ट्रान्सफर खर्चतर्फ १ अर्ब १३ करोड ४४ लाख २८ हजार ५ सय १५ रुपैयाँ ३६ पैसा रहेको कार्यालयले जनाएको छ । जसको आन्तरिक खर्चतर्फ १२ करोड ९४ लाख ५ हजार ८ सय ७८ रुपैयाँ ८३ पैसा र बाह्य खर्चतर्फ १ अर्ब ५० लाख २२ हजार ६ सय ३६ रुपैयाँ ५० पैसा रहेको कार्कीले बताए ।

आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाको कुल खर्च १ अर्ब २१ करोड ९४ लाख २० हजार ६ सय ६७ रुपैयाँ १९ पैसा भएको थियो । योमध्ये चालु बजेट खर्च ७२ करोड २१ लाख ५६ हजार ५६ रुपैयाँ ३६ पैसा छ । त्यस्तै पूँजीगत बजेट खर्चतर्फ ४९ करोड १७ लाख ८० हजार ८ सय ७४ रुपैयाँ ९२ पैसा र वित्तीय व्यवस्थापनतर्फ ५४ लाख ८३ हजार ७ सय ३५ रुपैयाँ ९० पैसा रहेको नगरपालिकाले जनाएको छ ।