फाइल तस्बिर

झापाः झापाका कुनै पनि स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहोरलाई बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।

मेची नगरपालिकाले निन्दा खोलाको किनारमा वर्षौंदेखि फोहोर फाल्दै आएको छ भने बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्त रूपमा डम्पिङसाइट निर्माण गर्ने बताए पनि हालसम्म जग्गा नभेटेको भन्दै बाटो किनारमा, खोला तथा सामुदायिक वनमा लगेर फोहोर फाल्ने गरेका छन् । दमक नगरपालिकाले पनि स्थानीय हम्सेदुम्से सामुदायिक वनमा फोहोर फाल्ने गरेको छ ।

बाह्रदशी गाउँपालिकाले आफ्नो छुट्टै डम्पिङ साइट बनाउनुको सट्टा बिर्तामोडको फोहोर बाह्रदशीको सार्वजनिक जमीनमा फाल्न अनुमति दिएको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बिर्तामोडस्थित बीएण्डसी अस्पतालको फोहोरआफ्नो गाउँपालिकाभित्र रहेको सार्वजनिक जमिनमा फाल्न अनुमति दिएका छन् ।

२०७० साल असार १० गते फोहोरमैला व्यवस्थापन नियमावली २०७० नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली जारी भएको थियो ।
सोही नियमावलीअनुसार सबै स्थानीय तहले आफैँ फोहोरमैला व्यवस्थापन गर्नुपर्ने हुन्छ । नियमावलीको उपनियम ३ मा फोहोरमैला पृथकीकरण तथा व्यवस्थापनको व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार उपनियम ३ को उपदफा १ मा स्थानीय निकायले ऐनको दफा ६ बमोजिम कम्तीमा जैविक र अजैविकलगायतका फोहोरमैलालाई स्रोतमै छुट्याउने गरी तोक्दा हानिकारक वा रासायनिक फोहोरमैलालाई छुट्टाछुट्टै पृथकीकरण तथा व्यवस्थापन गरी तोक्नुपर्नेछ भनिएको छ ।

यसरी तोकिएकोमा फोहोरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले सोहीबमोजिमको पृथकीकरण गर्नुपर्नेछ भनिए पनि झापाका ८ नगरपालिका र ७ गाउँपालिकाले पुरानैशैलीमा फोहोर फालिरहेका छन् ।

जसका कारण झापाका अधिकांश शहरमा फोहोरको थुप्रो देख्न सकिन्छ । स्थानीय तहले नै फोहोरमैला व्यवस्थापनका लागि छुट्टै नियमावली बनाउनुपर्ने भए पनि उनीहरूले त्यसतर्फ ध्यान नदिँदा ठूला भनिएका सबै शहर दुर्गन्धित बन्दै गएका छन् ।
ऐनले व्यवस्था गरेअनुसार झापामा सञ्चालित कुनै पनि अस्पतालले समेत स्वास्थ्य संस्थाजन्य फोहोरमैलाको व्यवस्थापनका लागि चासो दिएका छैनन् ।

कतिपय अस्पतालले आफ्नो अस्पताल परिसरमै फोहोर जलाउने गरेका छन् भने कतिपय अस्पतालले खोला वा जङ्गलमा लगेर अस्पतालजन्य फोहोर फाल्ने गरेका छन् ।
दमकमा रहेको लाइफलाइन, बिर्तामोडको मनमोहन, कनकाईजस्ता अस्पतालले फोहोर अस्पताल परिसरमै जलाउने गरेका छन् ।

त्यस्तै सबैजसो क्लिनिक तथा अन्य स्वास्थ्य संस्थाले समेत स्वास्थ्य संस्थाबाट निस्किएको औषधीजन्य फोहोर फाल्ने उपयुक्त स्थान सडक, जङ्गल र खोलालाई नै बनाएका छन् ।

नीति तथा कार्यक्रममा हरेक स्थानीय तहले आफ्नो गाउँ वा नगरको फोहोर व्यवस्थापनका लागि पहल गर्ने उल्लेख गरे पनि कार्यान्वयन भने शून्य छ ।

झापामा दिनप्रतिदिन फोहोरजन्य रोगको सङ्क्रमण बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले बताए ।

उता भद्रपुर नगरपालिकाले वडा नम्बर ५ को मेची खोला किनारको मसानघाटमा फोहोरमैला फाल्दै आएको छ । ल्याण्डफिल साइट खरीद गरेको झण्डै १५ वर्ष हुँदासमेत भद्रपुरले डम्पिङ साइट तयार गर्न सकेको छैन ।

नगरले खडिया खोला नजिकै कालिका टी स्टेट जाने सडकखण्ड छेउमा जग्गा खरीद गरेको थियो । चन्द्रगढी एयरपोर्टका कारण नगरले सो स्थानमा डम्पिङ साइट बनाउन नसकेको बताइएको छ ।

सो जमीनलाई नगरले चिल्ड्रेन पार्क बनाउने योजना अघि सारेको छ