इटहरी: डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकार समेतले लाखौं खर्च गरेर विभिन्न जिल्लामा फगिङ मेसिन खरीद गरी औषधी छिटिरहेको बेला सङ्घीय स्वास्थ्य मन्त्रालयले फगिङ मेसिनले धुँवा फाल्दैमा डेङ्गु नियन्त्रण नहुने बताएको छ ।

इटहरी उपमहानगरमा भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले धुवाँ फाल्ने कार्यले डेङ्गु नियन्त्रणमा सकारात्मक प्रभाव नपार्ने बरु ज्येष्ठ नागरिक र बालबच्चालाई हानि पु¥याउने बताए ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले डेङ्गु नियन्त्रणमा फगिङ उपयुक्त नरहेको बताइन् । तर अहिले धुवाँ फाल्न राजनीतिक दबाब तीव्र रहेको उनले जनाइन् । उनले डेङ्गु फैलिसकेपछि नियन्त्रण हुन समय लाग्ने भएकाले संयमित रहन पनि आग्रह गरिन् । तथापि धरान र इटहरी उपमहानगरले नियन्त्रणमा गरेको प्रयासको उनले प्रशंसा गरिन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा .विवेक लालका अनुसार रोग नियन्त्रणमा खोज र नष्ट गर (सर्च एण्ड डिस्ट्रोय) विधि नै प्रभावकारी हो । अर्का डाक्टर सुरेश मेहताले खोज र नष्ट गर्नुका साथै लेजिस्लेटिभ कन्ट्रोल प्रभावकारी हुने गरेको उदाहरण प्रस्तुत गरे ।

डेङ्गुको सङ्क्रमण देखिएपछि जमेको पानी हटाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । जमेको पानी नहटाउने र सरसफाइमा ध्यान नदिनेलाई जरिवाना तिराउने विधि विश्वका विभिन्न देशहरूमा रहेको डा. मेहताले बताए । डा विवेकलालले भारत, श्रीलङ्का, सिङ्गापुर लगायतका देशमा लाखौँ जरिवाना र कैदसम्म गर्ने अभ्यास रहेको जानकारी दिए ।

सय जनामा ९९ जनाले सरसफाइ गर्ने तर १ जनाले सरसफाइ नगरे पनि समस्या हुने उनको भनाइ थियो । उनीहरूका अनुसार घर वरपर कुनै वस्तुमा पनि पानी जम्न नदिनु डेङ्गुबाट जोगिने प्रभावकारी उपाय हो । यसका लागि व्यक्ति र समुदाय नै जागरुक हुनुपर्ने उनीहरूको जोड छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा डेङ्गु नियन्त्रणका सबै कार्यमा उपमहानगर प्रतिबद्ध रहेको बताए । उपमेयर लक्ष्मी गौतमले जे गर्दा नियन्त्रण हँुदैन त्यही काम अर्थात् धुँवा उडाउन जनस्तरवाट माग आउने गरेको बताइन् । वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतमले स्थानीय तहमा स्वास्थ्य सम्बन्धी अधिकार आए पनि दक्ष जनशक्ति भने सङ्घ सरकारसँग रहेकाले डेङ्गु नियन्त्रणमा समस्या भइरहेको बताए ।

डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारले धरान उपमहानगर क्षेत्रका लागि मात्रै ८० लाख बजेट प्रदान गरेको थियो । फगिङ मेसिन तथा छर्कने औषधी खरीद र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई टेष्ट किट्स खरीदका लागि सो रकम खर्च गरिएको थियो । धरान उपमहानगरले पनि ३० लाख अलग्गै बजेट खर्च गरेको थियो । यतिका बजेट खर्च हुँदा र अनेक प्रयास गरे पनि धरानमा अझै पनि डेङ्गु नियन्त्रण हुन सकेको छैन ।