इटहरीः नेपाल पत्रकार महासङ्घ प्रदेश एक समितिले पूर्ण प्रेस स्वतन्त्राको ग्यारेन्टी गर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
महासङ्घको प्रदेश समितिका अध्यक्ष विक्रम लुुइँटेलसहितको समितिले बुधबार प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीमार्फत् प्रधानमन्त्रीलाई सो विषयको ज्ञापनपत्र पठाइएको हो ।
भदौ १ मा जारी भएको मुलुकी फौजदारी र देवानी संहितामा भएका कतिपय प्रावधान प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख गर्दै महासङ्घको प्रदेश एक समितिले संहितामा भएका प्रेस स्वतन्त्रता विरोधी बँुंदा सच्याउन माग गरेको छ ।
ज्ञापन बुझ्दै प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सो ज्ञापन केन्द्र सरकारलाई पठाइने बताए ।
उनले भदौ १ मा जारी भएको मुलुकी फौजदारी र देवानी संहिताले विभिन्न क्षेत्रमा देखिएका छाडापनलाई नियन्त्रण गर्ने दाबी गर्दै पत्रकारिता पेशालाई पूर्ण स्वतन्त्र राख्न आवश्यक कानुनको स्पष्ट व्याख्याका निम्ति पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका मोरङ सभापति बन्धु पोखरेल, वरिष्ठ पत्रकार शिवबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विक्रम निरौला, प्रेस चौतारीका मोरङ सचिव सुदीप कोइरालालगायत प्रदेश समितिका पदाधिकारीको सहभागिता थियो ।




















