सोलुखुम्बुः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्ण रूपले प्रतिबन्ध लगाइने भएको छ ।

वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोतलमा प्रतिबन्ध लागउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बताए ।

आगामी पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिने भएको हो ।

निर्णय कार्यान्वयनमा ल्याउनुअघि गाउँपालिकाले त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ । जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । सो गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन् ।