बिर्तामोडः झापाका अधिकांश उद्योगले उत्पादन गरेको पानीमा पीएचको मात्रा न्यून भेटिएको छ । झापाको बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी पीएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो ।

खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८ दशमलव ५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान तोकेको छ । बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पीएचको मात्रा न्यून पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको बताए । पीएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापामा उत्पादन हुन्छ । अन्य २ ओटा ब्राण्डको पानी झापाबाहिर उत्पादन भई झापाको बजारमा आउने गर्छ ।

संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा पानी परीक्षण गरिएको हो । बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताइन् । उनले गुणस्तरीय उत्पादन तथा उपभोक्ताको हित संरक्षणमा जोड दिएकी छिन् ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय र स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न आग्रह गरे । त्यस्तै उपभोक्ता हित संरक्षणका लागि नियमित रूपमा पिउने पानी उत्पादन र बिक्रीको अनुगमन तथा नियमन गर्ने उनले बताए ।

मङ्गलबार बजारबाट २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी डिजिटल प्रविधिबाट पीएचको मात्रा मापन गरियो । जसमा सुनमाइ झरनाको पीएचको मात्रा सबैभन्दा बढी ७ दशमलव ३ पाइयो ।

त्यस्तै, किन्लेको ७ दशमलव १, हिमालयन र प्युरिकमको ६ दशमलव ५, मकालु र बेल्लीको ६ दशमलव ७, बेला र कञ्चनको ६ दशमलव ४ तथा एक्वामेरी, ओसिस जल, इस्ट स्प्रिङ, डियु ड्रब्स र जिरो एक्वामा पीएचको मात्रा ६ दशमलव २ पाइएको थियो ।

अन्य ब्राण्डमा कनकाई, र लाइफलाइनको ६ दशमलव १, तृष्णाको ६, लाइफ केयरको ५ दशमलव ७ तथा माइधाम र शाश्वतको पीएचको मात्रा ५ दशमलव ६ पाइएको थियो ।
बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्ने पानीमा पीएचको मात्रा ६ दशमलव ८ फेला परेको छ । बिर्तामोड निवासी ओमकृष्ण विमलीले आफ्नो ट्युबेलको पानी परीक्षण गराउँदा पीएचको मात्रा ६ पाइएको थियो ।

पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पीएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८ दशमलव ५ पीएचसम्मको पानीलाई पिउनयोग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६ दशमलव ५ देखि ८ दशमलव ५ पीएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ ।

पानीमा ७ पीएच सबैभन्दा उत्तम मानिन्छ । ६ पीएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ । ८ दशमलव ५ पीएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पीएचको मात्रा न्यूनतम पीएचभन्दा कम रहेको बताइन्छ ।

६ पीएचभन्दा कम पीएचको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने विज्ञहरूले बताएका छन् ।

सरोकारवालाको सुझावः
विज्ञहरूले स्वस्थ र गुणस्तरीय पानी पिउन उपभोक्तालाई आग्रह गरेका छन् । उनीहरूले व्यापारको नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगर्न उत्पादक कम्पनीलाई सुझाएका छन् ।

अधिवक्ता खगेन्द्र खरेल, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव एकराज गिरी लगायतले उपभोक्ता सचेतनामा जोड दिएका थिए ।