महालक्ष्मी, धनकुटा: महिलाहरूलाई आर्थिक रूपमा सवल बनाई आत्मनिर्भर बनाउने उद्देश्यले धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र २ वर्षअघि पहिलो पटक सञ्चालन गरेको ‘प्रथम उपमेयर जीविको जागरण महिला कार्यक्रम’ले महिलाहरू आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । सो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि नगरपालिकाले निरन्तरता दिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ बाट शुरु गरेको सो कार्यक्रममा ४ हजार ७ सय परिवारका महिलाहरू आबद्ध छन् । ९ ओटै वडामा सञ्चालन गरिएको ‘प्रथम उपमेयर जीविको जागरण महिला कार्यक्रम’मा एक परिवारका एक महिला अनिवार्य सदस्य रहेको महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जुकुमारी कार्की अधिकारीले बताइन् ।

उपमेयर अधिकारीका अनुसार ९ ओटै वडाहरूमा समिति बनाएर ४ हजार ७ सय घरपरिवारका महिलाहरूलाई सो कार्यक्रममा आबद्ध गराइएको छ । ९ वटै वडाका समितिले प्रत्येक महिना बैठक गर्ने र उनीहरूको आर्थिक अवस्था अनुसार कम्तीमा २० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँसम्म मासिक बचत गर्ने गरेको उपमेयर अधिकारीले बताइन् ।

अघिल्ला दुई आर्थिक वर्षमा नगरपालिकाले ९ ओटै वडाका महिला समितिलाई बीउ पूँजीका रूपमा अनुदानबापत १ लाखका दरले रकम दिएको उपमेयर अधिकारीले बताइन् । चालु आर्थिक वर्षमा भने रकम बढाएर १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उनले जनाइन् । जुन घुम्ती कोषका रूपमा ९ ओटै वडाका महिलाहरूले सो रकम परिचालन गरिरहेका छन् ।

सबै वडाका महिला समितिले नगरपालिकाले दिएको बीउ पूँजीमा मासिक बचतको रकम पनि मिसाएर समितिमा आबद्ध भएकै महिलाहरूलाई मासिक १२ प्रतिशत ब्याजदरमा लगानी गरिरहेको उपमेयर अधिकारीले बताइन् ।

महिलाहरूले आफूहरूलाई आवश्यकता अनुसार १२ प्रतिशत ब्याजदरमा ऋण लिने गरेका छन् । ऋणको ब्याजबापत लिइएको १२ प्रतिशतबाट ६ प्रतिशत समूहले नै राख्ने उपमेयर अधिकारीले बताइन् । बाँकी ६ प्रतिशतमात्रै नगरपालिकालाई बुझाउनेछन् ।

नगरपालिकाले कार्यविधि बनाइसकेको हुनाले ६ प्रतिशत ब्याजबापतको रकम सेवा कोषमा राखिनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखको नाममा नगरपालिकाले खाता खोल्ने छ । सोही खातामा ६ प्रतिशत व्याजबाट आउने रकम राखिने उपमेयर अधिकारीले बताइन् ।

यो कार्यक्रमको संरक्षकमा नगर प्रमुख रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । उपमेयर अधिकारीले भनिन्, ‘कर्मचारीहरू आउने जाने क्रम नरोकिएकाले खाता खोल्न ढिला भएको हो । अब केही साताभित्रमै खाता खोलेर दुई वर्षअघिदेखिको ६ प्रतिशत ब्याजबापतको रकम समूहबाट फिर्ता लिएर जम्मा गरिने छ ।’

सेवा कोषको खातामा रहेको रकम ९ ओटै वडामा महिला हिंसामा परी तत्काल घर फर्कन नसक्ने पीडित महिलाहरूका लागि, अनाथ बालबालिकाको पढाइ खर्चका लागि, गरीब महिलाहरू बिरामी पर्दा र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा खर्च गरिने उपमेयर अधिकारीले बताइन् ।

त्यसका लागि नगर उपप्रमुखको अध्यक्षतामा सबै निर्वाचित महिला सदस्य र कार्यपालिकामा रहेका महिलासदस्यहरू सदस्य हुने गरी परिचालन समिति निर्माण गरिएको उपमेयर अधिकारीले बताइन् ।

वडाहरूमा पनि परिचालन समिति निर्माण गरिएको छ । ९ ओटै वडाका परिचालन समितिले टोल टोलमा उप समिति निर्माण गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । १८ वर्ष उमेरमाथिका महिलाहरू आबद्ध भएको समितिमा हाल १ घर १ महिला अनिवार्य सदस्य रहेका छन् ।

इच्छाअनुसार घरका अन्य महिलाले पनि मासिक बचत गर्न सक्नेछन् । बजेट कम भएकाले ऋण अनुदानमा भने हाललाई एक घरका एक महिलालाई मात्रै समेटिएको उपमेयर अधिकारीले बताइन् । बजेट वृद्धि हुँदै गएपछि एक घरका अन्य महिला सदस्यलाई पनि यो कार्यक्रममा सहभागी गराउने योजना नगरपालिकाले बनाएको उपमेयरले बताइन् ।

महिला समूहलाई बीउ पूँजी अनुदानस्वरूप प्रदान गर्नुअघि नगरपालिकाले क्षमता विकासको तालीम दिएर सङ्गठित गर्ने कार्य ग¥यो ।

त्यसपछि उनीहरूको इच्छाअनुसारका सीपमूलक तालीमहरू प्रदान गरिएको उपमेयर अधिकारीले बताइन् । उनका अनुसार ढाका बुनाइ, सिलाइकटाइ, क्रिस्टलका गहना बनाउने तालीम र किसान महिलाहरूलाई आधुनिक तरिकाले तरकारी खेती तथा पशुपालनको तालीम प्रदान गरिएको उपमेयर अधिकारीले बताइन् ।

उनका अनुसार किसान महिलाहरूले समूहबाट लिएको ऋणबाट बाख्रा पालन, बङ्गुर पालन, गाईपालनका साथै तरकारी खेती गर्दै आएका छन् ।

आफूले महालक्ष्मी नगरपालिकाको उपमेयरको जिम्मेवारी लिएपछि ९ ओटै वडाहरूमा पुग्दा चर्को ब्याजदर लिने वित्तीय संस्थाहरूको सञ्जालको जञ्जालमा फस्ने गरेका थिए ।

धेरैजसो महिलाहरू डिप्रेसनमा पुगेको, कतिपयले ऋण तिर्न नसकेर ससाना छोराछोरी नै त्यागेर घर छोडेर हिँडेको, श्रीमान्श्रीमतीबीच झगडा भएको र कतिपय महिलाहरू आत्महत्या गर्ने स्थितिसम्म पुगेको पाएकाले उनीहरूलाई ती समस्याबाट मुक्त गराउनका लागि नगरपालिकाले यो कार्यक्रम ल्याएको उपमेयर अधिकारीले बताइन् ।

यो कार्यक्रम लागू भएपछि महिलाहरू आफैँ आयआर्जनमा सहभागी भएका छन् । समूहमा आबद्ध भई यो कार्यक्रममा सहभागी भएका महिलाहरू कुनै पनि हिंसामा नपरेको उनले बताइन् ।

उपमेयर अधिकारीले भनिन्, ‘पहिला महिलाहरूले आफूलाई चाहिने सामान्य वस्तु खरीद गर्नका लागि श्रीमान्को मुख ताक्नुपर्ने अवस्था थियो । अहिले उल्टै महिलाहरूले आफ्नो कमाइ श्रीमान्लाई दिने गरेका छन् ।’ उनीहरूको कमाइले छोराछोरी राम्रोसँग स्कुल पढाइरहेको र घरखर्च समेत जुटाउन सफल भएको उपमेयर अधिकारीले बताइन् ।

mahalaxmi nagarpalika dkt 1