बेलबारी: मोरङको सुन्दरहरैचा १ कुमार गाउँका प्रकाश घिमिरे दिन बिराएर घर नजिकै रहेको आफ्नै तरकारीवारिमा गएर काम गर्छन् । उनले तरकारी बारीमा काम गरेबापत बापत प्रति घण्टा एक सय रुपैयाँका दरले ज्याला पनि पाउँछन् । त्यस्तै विशाल बजगाईँ पनि बिहान बिहान दिन बिराएर तरकारी बारीमै काम गर्छन् र प्रकाशले जसरी नै ज्याला लिन्छन् ।
उनीहरू जस्तै कुमार गाउँका ४५ जना मिलेर एक कृर्षक समूह खोलेर केही महिना देखी तरकारी खेती गर्न थालेका छन् । सयपत्री कृषक समूह खोलेर तिनै समूहका २० जना मिलेर सामूहिक खेतीको अभ्यास सुरु गरेका हुन् । बजगाईँ र घिमिरे सयपत्रीका सदस्य हुन् । उनीहरू भन्छन् ‘पहिला हामीले नै पुँजी जुटायौँ, अहिले हाम्रै खेतीबाट आफैले काम गरेको पैसा लिन्छौँ ।
‘गत वैशाख देखी सामूहिक खेती थालेका हौ’ प्रकाशले भने ‘अहिले बारीमा भिन्डी, लौका र धान रोपेका छौ ।’ एक बिघा ३ कट्ठा जग्गा लिजमा लिएर उनीहरूले भिँडी, लौका र एसआरआई प्रविधिबाट धान रोपेका छन् ।
अहिले भिँडी र लौका बेचिरहेका छन् भने धान खेतमा लहलह देखिन थालेको छ । उनीहरूले प्रति वर्ष ५० हजारमा तिर्ने सर्तमा जग्गा लिजमा लिएका हुन । विशालले भने ‘हामी अन्य व्यक्तिकोमा ज्याला मजदुरी गर्नेहरू मिलेर सामूहिक खेती थालेका हौ ।’ ६–७ जनाको ३ वटा समूह बनाएर पालो पालो खेतबारीमा काम गर्ने गरेको उनले बताए । ‘अहिले सबै लगानी समूहकै हो’ उनले भने ‘हाम्रो ज्याला र खर्च कटाएर बचेको सबै पैशा समूहमै जम्मा हुन्छ ।’ समूहको ७० हजार लगानीमा उनीहरूले खेती थालेका हुन् ।
उनीहरूले उत्पादन गरेको भिँडी प्रतिकिलो १५ रुपैयाँ देखी ४० रुपैयाँ सम्ममा किनबेच हुने गरेको छ । स्थानीय बेलबारी, विराट चोक लगायतका व्यापारीहरू आएर बारीबाटै लाने गरेको उनीहरूले सुनाए । बजारसम्म बेच्ने पहुँच पुुर्याउन पहल गरिरहेको उनीहरूले जानकारी दिए ।