शारदा माध्यामिक विद्यालय महालक्ष्मी २ धनकुटाका विद्यार्थीहरू घरबाट  ल्याएको दाल, भात तरकारी खाजाका रूपमा खाँदै तस्बिरः दिवाकर सुवेदी

महालक्ष्मी, धनकुटाः आफ्ना बालबच्चाहरूलाई शारीरिक तथा मानसिक हिसावले कस्तो बनाउने भन्ने कुरा, तपाईँले उनीहरूलाई कस्तो खानेकुरा खुवाइरहनुभएको छ भन्ने कुराले पनि ठूलो प्रभाव पारिरहेको हुन्छ ।

पछिल्लो समयमा व्यस्ततालाई कारण बनाउँदै प्रायः अधिकांश अभिभावकहरूले घरमा होस् या विद्यालयमा खाजाका रूपमा आफ्ना बालबच्चाहरूलाई उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्ने जङ्क फुड खुवाइरहेका छन् ।

विभिन्न खालका अनुसन्धान र बालबालिकाले पढ्ने पाठ्यक्रममै पनि जङ्क फुड खानाले बालबालिकाहरूको शारीरिक तथा मानसिक बृद्धि विकासमा गम्भीर असर पर्ने उल्लेख गरेको पाइन्छ । धनकुटा जिल्लाको ‘गाउँको नगरपालिका’ महालक्ष्मी नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रहरूमा जङ्क फुडलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाटै ‘घरमा जे पाक्छ, स्कुलमा त्यही खाइन्छ’ भन्ने नाराका साथ लागू गरिएको कार्यक्रममार्फत् सामुदायिक विद्यालय र बाल विकास केन्द्रहरूमा जङ्क फुडलाई पूर्ण प्रतिबन्ध लगाएको हो ।

डाक्टर रामकृष्ण आचार्यका अनुसार जन्मेदेखि किशोर अवस्थासम्म हरेक बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास हुने गर्छ । त्यस बेलामा जङ्क फुड खाएमा त्यसमा भएको अनावश्यक रसायनले स्वास्थ्यमा गम्भीर असर गर्ने गर्छ । जङ्क फुडमा शरीरले पचाउन नसक्ने तत्वहरू प्रशस्तै हुने डा. आचार्यले बताए । त्यस्तै असन्तुलित पोषण हुने भएकाले किशोर अवस्था सम्मकाले अन्य पोषक तत्व इच्छा नै नराख्ने गरेको आफ्नो अध्ययनले देखाएको डा. आचार्यले बताए ।

जङ्कफुड खाएकै कारण किशोरकिशोरीहरूको मृगौलामा समस्या देखिनुका साथै बोधपन, कुपोषण र रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा प्रतिदिन ह्रास आउने गरेको उपचारका क्रममा आफूले पाएको डाक्टर आचार्यले बताए ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालका अनुसार टिफिनको समयमा छिटो मिठो खाजाका रूपमा अभिभावकहरूले नै चाउचाउ, चिप्स, कुरमुरे, बिस्कुट, चाउमिनलगायतका जङ्क फुड लिएर जाने वा किनेर खानका लागि आफ्ना बालबालिकाहरूलाई पैसा दिएर पठाउने चलन बढेको छ । बालबालिकाहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर घरमा जे पाक्छ, स्कुलमा त्यही खाइन्छ भन्ने नाराका साथ यो कार्यक्रम लागूू गरिएको हो ।

‘घरमा जे पाक्छ, स्कुलमा त्यही खाइन्छ’ भन्ने नाराका साथ यो कार्यक्रम महालक्ष्मी नगरपालिकाका ५३ सामुदायिक विद्यालय र ५९ बाल विकास केन्द्रमा लागू भएको नगरपालिकाका स्रोत व्यक्ति पुष्प कट्वालले बताए ।

parsu ram nepal

उनका अनुसार नगरपालिकाका ९ ओटै वडाका ती सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रका कक्षा ३ सम्म अध्ययन गर्ने छात्र तथा छात्रा गरी २ हजार २ सय जनालाई नगरपालिकाले टिफिन बक्स वितरण गरेको छ ।

सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रहरूमार्फत् विद्यार्थीहरूलाई वितरण गरिएको टिफिन बक्समा अभिभावकहरूले नियमित रूपमा घरमा विद्यालय आउनुअघि पाकेको दाल, भात, तरकारी नै टिफिन (खाजा) हालेर नियमित रुपमा पठाउने गरेको स्रोत व्यक्ति कट्वालले बताए ।

टिफिन बक्स वितरणपछि नगरपालिकाले समयसमयमा र सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रका शिक्षक, शिक्षिका र कर्मचारीहरूले कक्षाकक्षामा गएर के कस्तो र कुन गुणस्तरको खाजा बालबालिकाहरूले ल्याएका छन् भन्ने कुराको जाँच गर्ने गरिएको स्रोत व्यक्ति कट्वालले बताए ।

सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रका बालबालिकाहरूले जङ्क फुड खाँदा त्यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा के कस्तो असर पर्छ भन्नेसमेत पढाउने गरिएको छ । विद्यालय तथा बाल विकास केन्द्रहरूले टिफिन बक्स वितरण कार्यक्रम गर्दा अभिभावकहरूलाई समेत सहभागी गराएको थियो । टिफिन बक्स वितरण गर्नुको कारण बारे स्पष्ट पारेकाले अभिभावकहरू सचेत भई घरमा पाकेको आफूले नै उत्पादन गरेको अर्गानिक खानेकुराहरू खाजाका रूपमा आफ्ना बालबच्चाहरूको टिफिनकारीमा हालेर पठाउने गरेको कट्वालले बताए ।

यो कार्यक्रम लागू भएपछि आधा समय मात्र विद्यालय पढेर घर जाने क्रम रोकिएको छ । त्यति मात्रै होइन, बालबालिकाहरूले घरमै पाक्ने दाल भात तरकारी खाजाका रूपमा स्कुलमै खान थालेकाले उनीहरूको शारीरिक तथा मानसिक वृद्धिविकासमा सकरात्मक असर परेको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।

mahalaxmi nagarpalika dkt 1

घरबाट पैसा दिन बन्द भएकाले अभिभावकहरूको थोरै भए पनि पैसा बचत भई खाजामा खर्च हुने पैसा बालबालिकाहरूको पढाइमा खर्च गर्ने अवस्था सिर्जना भएको मेयर नेपालले बताए ।

नगरपालिकाका ९ ओटै वडाहरूमा सञ्चालित सामुदायिक विद्यालय तथा बाल विकास केन्द्रहरूमा शिक्षा शाखाका कर्मचारीसहित अनुगमनमा जाँदा धेरैजसो बालबालिकाहरू टिफिनको समयमा खेल्न विद्यालय बाहिर निस्कने र खेल्दाखेल्दै गलेर भोकाउने गरेको पाइयो ।

भोकाउनासाथ आधा समयमात्र पढेर घर जाने गरेको समेत पाइएकाले बालबालिकाहरूले विद्यालयको पढाइ समय अवधिभर बिनासङ्कोच पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले घरबाट खाजा ल्याउन सजिलोका लागि टिफिनकारी वितरण गरेको मेयर नेपालले बताए ।

टिफिनकारी वितरणपछि नगरपालिकाका सबै सामुदायिक विद्यालय र बाल विकास केन्द्रहरूमा समय अवधिभर विद्यार्थी पढ्ने गरेको पाइएको छ । त्यति मात्र नभई बालबालिकाहरूको विद्यालय तथा बाल विकास केन्द्र आउने नियमितता बढिरहेको पाइएको मेयर नेपालले बताए ।

स्रोत व्यक्ति कट्वालका अनुसार चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । चालु आर्थिक वर्षमा शिशु कक्षामा भर्ना हुने बालबालिका र कक्षा ४ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई टिफिनकारी वितरण गर्ने कार्यक्रम राखिएको छ ।

महालक्ष्मी नगरपालिकामा ४ ओटा निजी क्षेत्रका विद्यालयहरू रहेको र उनीहरूलाई पनि शिक्षा समितिको बैठक हुँदा राखेर नगरपालिकाले लागू गरेको ‘घरमा जे पाक्छ, स्कूलमा त्यही खाइन्छ’ भन्ने कार्यक्रमका बारेका जानकारी दिनुका साथै सचेत गराइएको कट्वालले बताए ।

mahalaxmi khaja  (3)