धरानः बैशाख अन्तिमदेखि धरानमा देखिएको डेङ्गुको सङ्क्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । धरानका अधिकांश नागरिक डेङ्गुको विषयमा सचेत छन् तर पनि डेङ्गु नियन्त्रण बाहिर नै छ ।
उपमहानगरपालिकाको तथ्याङ्कअनुसार धरानमा अहिले सम्म ३ हजार १ सय ७३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सोमबार बिहानसम्ममा ४ हजार १ सय ५५ जनाले रगत परीक्षण गराएका थिए ।
उनीहरूमध्ये १ हजार ७ सय २२ जनालाई एनएस वान पोजिटिभ देखिएको छ भने २ सय ८४ जनामा टु जीएम पोजिटिभ देखिएको छ । यी दुवै पोजिटिभले डेङ्गुको सङ्क्रमण करिब २ हजारमा देखिन्छ । २ सय २२ जनामा टु जीबी देखिएको छ । डेङ्गु लागेर निको भइसकेका बिरामीलाई पुनः ज्वरो आएमा टु जीबी देखिन्छ । टु जीबी देखिएका बिरामीहरूमा चाहिँ डेङ्गुको सङ्क्रमण नभएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहले बताए ।
एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लाखखुट्टेको टोकाइबाट डेङ्गु सेरोटाइप–२ देखिएको छ । प्रतिष्ठानमा हाल पनि दैनिक सरदर २५ देखि ३० जना नयाँ बिरामी थपिने गरेका छन् । डेङ्गुको खोप वा औषधी नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्ने, त्यसका अण्डा, लार्भा र प्युपा खोजी–खोजी नष्ट गर्नुबाहेक अर्को विकल्प नरहेको चिकित्सकहरूको सुझाव छ ।
धरानबाट फैलिएको डेङ्गुको सङ्क्रमण पूर्वका विभिन्न शहरमा देखा परिसकेको छ । शुरुमा प्रदेश सरकार समेतले चासो देखाएपछि नियन्त्रणको प्रयास भएको थियो तर मनसुन शुरु भएयता अभियान सुस्त भएपछि डेङ्गुको सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन ।
आफ्नो घर परिवार सफासुग्घर राख्न अल्छी गरेकाले डेङ्गु नियन्त्रण हुन नसकेको प्रतिष्ठानका ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनाल बताउँछन् । ‘डेङ्गुका विषयमा आमनागरिकहरू सचेत भइसकेका छन्, तर उनीहरू अरुलाई भन्छन्, आफ्नो घरबाट चाहिँडेङ्गुको लार्भा सर्च एण्ड डिस्ट्रोय चाहिँ गर्दैनन्,’ उनले भने, ‘प्रत्येक घर परिवारले आफ्नो वरपर सफा राख्ने, डेङ्गुको लार्भा डिस्ट्रोय गर्ने हो भने, केही दिनमै समस्या समाधान हुन्छ ।’
घरघरमा सचेतना कार्यक्रम सञ्चालन गर्दा पनि स्थानीयहरू सहकार्य गर्न नमान्दा नियन्त्रण अभियान प्रभावित भएको खनालको भनाइ छ । विशेषगरी धरानको वडा नम्बर १५ र ८ अझै पनि डेङ्गु प्रभावित क्षेत्रनै रहेको उनले बताए । उनले भने, ‘एक दिन अभियान चलायो, अर्को दिन त आफँै पनि गर्नुपर्छ नि तर अरुले आएर सफाइ गरिदिए हुने भन्ने पर्खाइमा छन् स्थानीय । अनि कसरी नियन्त्रण हुन्छ ?’
जनताको चासो र उनीहरूको सचेतनामा अल्छीपन हुँदा डेङ्गु झन फैलिँदै गएको उनले बताए । डेङ्गु सङ्क्रमण फैलिएको वडा नम्बर १५ र ८ मा एकैचोटि सरसफाई र डेङ्गु नियन्त्रणको अभियान केन्द्रित गर्न सके १ हप्तामै नियन्त्रणमा आउने खनालको दाबी छ ।