धरानः धरानमा जारी राष्ट्रिय बास्केटबल प्रशिक्षणमा आएका सहभागीहरूले उनीहरू धरान आउनुपूर्व धरानमा डेङ्गुको सङ्क्रमण फैलिएको छ भन्ने सुन्नेबित्तिकै डराएका थिए । उनीहरूलाई स्वागत गर्दै धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले अलिक सचेत रहन आग्रह नै गरेकी थिइन् । डेङ्गु सङ्क्रमण फैलिएको सुन्दा उनीहरूले धरान बाहिर बस्न आयोजकलाई आग्रह पनि गरेका थिए ।
त्यसैगरी केही दिन अघि धरानमा आयोजना भएको तीज विशेष महिला उद्यमी मेलामा काठमाडौंबाट पनि महिला उद्यमीलाई निमन्त्रणा गरिएको थियो । तर डेङ्गुको डरले उनीहरू आउन मानेनन् ।
पछिल्लो समय डेङ्गुकै डरले धरानमा आन्तरिक पर्यटकहरूको सङ्ख्यामा कमी हुँदै गएको छ । विभिन्न कार्यक्रम तथा तालीमहरूमा धरान आउनेहरू पनि डेङ्गुको त्रासमा रहने गरेका छन् । आन्तरिक पर्यटकहरू पनि पछिल्लो समय धरान भन्ने बित्तिकै डेङ्गु भनेर आत्तिने गर्छन् ।
वैशाख २९ गतेदेखि धरानमा देखा परेको डेङ्गुको सङ्क्रमणले धरानको पर्यटन व्यवसायसँगै होटल व्यवसायमा समेत प्रभाव पारेको छ । विगतमा बास बस्नका लागि धरान आन्तरिक तथा बाहय पर्यटकहरूको मुख्य गन्तव्य भए पनि अहिले भने भेडेटार वा इटहरीले सो स्थान लिएको छ ।
पर्यटकीय क्षेत्रहरूको प्रवेशद्वारको रूपमा रहेको धरानमा दैनिक ५ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पछिल्लो समय धरानमा डेङ्गु फैलिएपछि भने पर्यटकहरू आउन छाडेका छन् ।
डेङ्गुको प्रकोप बढ्दै गएपछि धरानको होटल व्यवसायमा असर परेको होटल व्यवसायी वासुदेव बराल बताउँछन् । ‘डेङ्गुलाई महामारीको रूपमा चित्रण गरी जसरी समाचारहरू आए त्यसले सबैभन्दा ठूलो समस्या होटल व्यवसायमा परेको छ’, उनले भने, ‘हामी चाहिँ धरानलाई बनाउन खोजिरहेका बेला समाचारले चाहिँ डेङ्गुले महामारीकै रूप लिएझैँ गरेर त्रसित बनायो ।’ बरालका अनुसार डेङ्गुको सङ्क्रमण फैलिन थालेपछि होटल तथा लजहरूमा करीब २५ प्रतिशत बुकिङ रेट घटेको छ ।
करीब ३ महिनादेखि नै धरानका होटलहरू प्रायः सुनसान नै रहेका छन् । धरानमा डेङ्गबाट २ हजार भन्दा बढी सङ्क्रमित भएको पाइएको छ । धरानलाई प्रकोपक्षेत्र नै घोषणा गरिएको छ । अझै पनि नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुको सङ्क्रमण फैलिए पनि सञ्चालनमा रहेका होटलहरू सुरक्षित रहेकाले नडराउन नगरपालिकाले आह्वान गरेको छ ।
धरानमा देखिएको डेङ्गुको सङ्क्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारसहित स्थानीय निकायहरूले अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय सामान्य अवस्थामा रहेको डेङ्गुको सङ्क्रमणको डर हटाउन थप कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको छ ।