इटहरीः इटहरीमा आयोजना भएको प्रदेश स्तरीय विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको उपाधि स्मृति सापकोटा भट्टराईले पाएकी छिन । बिहीबार इटहरी बैंक्वेटमा भएको ‘प्रदेश१ मिसेस् तीज’ नामक प्रतियोगितामा सहभागी अन्य ११ प्रतिस्पर्धीलाई उछिन्दै इटहरीकी भट्टराईले उपाधि पाएकी हुन । उपाधिसँगै भट्टराईले नगद दश हजार, प्रमाणपत्र र अन्य दर्जनौँ आकर्षक उपहारहरू पाएकी छिन ।

प्रतियोगितामा फ्रस्ट रनरअप विष्णु सिटौला, सेकेन्ड रनरअप निर्मला नेपाल भएकी छिन भने थर्ड रनरअपको उपाधि कल्पना तिम्सिनाले पाएकी छिन । फस्ट, सेकेन्ड र थर्ड रनरअपले  नगद, प्रमाणपत्र सहित आकर्षक उपाहारहरु प्राप्त गरेका छन् ।

नेपाली नारीहरूको महान् चाड तीजको उपलक्ष्यमा भएको प्रतियोगितामा १२ जना सावन १७ र २३ गते भएको अडिसन राउन्डबाट छनौट भएको आयोजक बिहानी डान्स सेन्टरले बताएको छ । सेन्टरकी प्रमुख तथा चर्चित कोरियोग्राफर प्रनिशा उदासका अनुसार सावन २५ बाट १७ दिने तालिमको समापनसँगै ग्रान्ड फिनालेबाट विजेता छानिएका हुन ।

आयोजक संस्थाका तुलसी घिमिरेका अनुसार यस अगाडिका दुई मिसेस् तीजका संस्करणका उपाधिहरु क्रमशः इटहरीकी रन्जु सिग्देल र धरानकी रोशनी गुरुङले प्राप्त गरेका थिए ।

‘लेस ग्लामर मोर इमपावरमेन्ट’ नाराका साथ भएको प्रतितियोगता आयोजक बिहानी डान्स सेन्टरले यस अगाडि लिटल प्रिन्स एन्ड प्रिन्सेस र समर क्याम्प जस्ता लोकप्रिय कार्यक्रमहरू समेत गर्दै आएको छ ।